गभर्नर पौडेललाई तत्काल राजीनामा दिन अर्थविद् डा. गोपिलाल न्यौपानेको सुझाव


काठमाडौं, २८ भदौ । अर्थविद्हरुले मुलुकलाई अहिलेको चूनौतिबाट पार लगाउनको लागि नयाँ सरकारले गम्भीर कदम चाल्नुपर्ने सुझाव दिएका छन् । नयाँ सरकारलाई खर्च कटौती, पारदर्शीता र सानो टिम बनाएर काम गर्न उनीहरुको सुझाव छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनीहरुले देशमै रोजगारी सिर्जना गर्न, पुँजी पलायन रोक्नेगरि कदम चाल्नपनि सुझाव दिएका छन् ।

अर्थविद् डा. गोपिलाल न्यौपानेले तत्काल नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेललाई तत्काल राजीनामा दिन भनेका छन् । अहिलेको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि पनि मौद्रिक नीति परिवर्तन गर्नुपर्ने भएकोले तत्काल गभर्नरले राजीनामा दिएर बाटो खोलिदिन सुझाव दिएका छन् ।

उनले भने,‘मौद्रिक नीति परिवर्तन गर्नसक्छ, गभर्नरलाई राजीनामा दिएर बाटो खोलिदिनुहोस भन्छु । उहाँ त कांग्रेस र एमालेले नियुक्त गरेको गभर्नर हो, कांग्रेसको कार्यकर्ता हो । कांग्रेसी कार्यकर्ता यो देशले महत्वपूर्ण ठाउँमा भएको हेर्न चाहँदैनन् । उहाँले राजनिामा दिएपछि मौद्रिक नीति परिवर्तन हुनसक्छ ।’

उनले तत्काल कांग्रेस, एमाले, माओवादी र राप्रपाको खाता फ्रिज गर्न सुझाव दिएका छन् । यिनीहरुको खाता फ्रिज नगरे आगामी निर्वाचनमा पैसा दुरुपयोग गरेरपनि चुनाव जित्नसक्ने खतरा औंल्याएका हुन् । उनले अब सिद्धान्त, बहस र नीतिको आधारमा चुनावमा भाग लिने वातावरण हुनुपर्ने बताए ।

उनले कलम बोक्ने कलिला हातले परिवर्तन ल्याएको भन्दै जेन–जी आन्दोलनको उपलब्धिको सराहना गरे । उनले भने,‘यो युवा पुस्ताको परिपक्व निर्णय हो, तपाईंहरुले सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउनुभयो । यो ६ महिने सरकार हो । यसबाट धेरै अपेक्षा गर्न सकिँदैन । साना साना आम नागरिकलाई प्रत्यक्ष असर पार्ने कुरामा महसुस गराउने काम गर्नुपर्छ ।’

उनले वर्तमान सरकारलाई खर्च कटौती गर्न सुझाव दिएका छन् । उनले भने,‘यो सरकारलाई मेरो सुझाव छ, यसले खर्च कटौती गरोस । गाडी नकिनोस । नयाँ फर्निचर नकिनोस । जनता गुन्द्रीमा बस्न नसक्ने अवस्था छ, विलाषिता नखोजोस । सरकारी पैसामा विदेश भ्रमण नगरोस । व्युरोक्रेसीलाई पनि भ्रमणको स्विकृत नदिईयोस । संसारले सुशिला कार्कीलाई चिनेको छ । अन्तर्राष्ट्रिय रुपमा लेवर ड्रिवन कन्ट्री हो । इन्टरनेश्नल कम्युनिटीमा साख बढाउने नसोच्नुहोस । तारे होटलमा गोष्ठी नगर्नुहोस । सल्लाहकार सानो राख्नुहोस । जागिर खुवाउने काम नगर्नुहोस ।’

उनले आगामी चुनावमा खर्च कम गर्न चुनावलाई डिजिटलाईजेशन गर्न सुझाव दिएका छन् । उनले भने,‘७ प्रदेश छ, ७ दिन चुनाव गराईदिनुहोस । निजी क्षेत्र त्राहिमाम भएको छ । क्यापिटल फ्लाईट हुनसक्छ । पुँजी पलायन रोक्नको लागि संयन्त्र बनाउनुहोस ।’