देउवा दम्पत्ति अझै उपचाररत


काठमाडौं, २९ भदौ । जेन–जी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी निवर्तमान परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा अझै उपचाररत रहेको बताइएको छ । गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले देउवा दम्पत्तिमाथि आक्रमण गरेका थिए ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको हस्ताक्षरमा आज जारी भएको वक्तव्यमा देउवा दम्पत्ति अझै उपचाररत रहेको उल्लेख छ । कांग्रेसले लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रुपमा संघर्ष गरेका पूर्व प्रधानमन्त्री देउवा र केन्द्रीय सदस्य डा.राणामाथिको अमानवीय र वर्बरतापूर्वक भौतिक आक्रमण भएको भन्दै निन्दा एवं भर्त्सना गरेको छ । ‘उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं,’– वक्तव्यमा भनिएको छ ।