देउवा दम्पत्ति उपचारमै, प्रचण्ड आजबाट सक्रिय हुँदा ओली कहिले सार्वजनिक होलान ?


काठमाडौं, ३१ भदौ । जेन–जी आन्दोलनबाट मुलुकमा सत्ता परिवर्तन गराएको छ । पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा गैरदलीय सरकार बनेको छ । यो सरकारको म्याण्डेट आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउनु हो । सरकारका मन्त्रीहरुले पनि आफूहरुको प्रमुख ध्येय नै चुनाव गराउनु भएको प्रतिक्रिया छन् ।

भदौ २३ र भदौ २४ गतेको जेन–जीको आन्दोलनका कारण पूराना दल र यसका नेतृत्वहरु विस्थापित गरिनुपर्ने आवाज उठेको छ । आन्दोलनको क्रममा पूराना दलका शीर्ष नेताहरु नेपाली सेनाको सुरक्षा घेराभित्र रहेर आफ्नो ज्यान जोगाउन सफल भए । निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली अझै सार्वजनिक भएका छैनन् ।

उनी भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएर सेनाको सुरक्षाभित्र बसेका थिए । उनले आफू शिवपुरीमा सेनाको उच्च सुरक्षा घेराभित्र रहेको भनेर जानकारी गराएका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी आरजु राणा भने आन्दोलनकारीको कुटाईबाट घरमै सख्त घाइते भएका थिए ।

उनीहरुलाई नेपाली सेनाले रेस्क्यु गरेर उपचार गराईरहेको छ । उनीहरुको अझै एक साता उपचार जारी रहने भनिएको छ । कांग्रेस नेताहरुले सभापति दम्पत्तिको स्वास्थ्य अवस्थाबारे निरन्तर अपडेट लिएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल भने आजबाट सक्रिय भएका छन् ।

उनी पार्टी मुख्यालय पेरिसडाँडा पुगेर तोडफोड र आगजनीमा परेको पार्टी कार्यालयको निरीक्षण गरेका छन् । एमाले अध्यक्ष ओली भने पार्टीका दोस्रो तहका नेताहरुसँग निरन्तर सम्पर्कमा रहेको बताईन्छ । उनी कहिले सार्वजनिक हुने भन्नेबारे स्पष्ट भनिएको छैन । file photo