एमाले नेता बादलले सुशीला कार्कीको सरकारलाई ‘अनागरिक सरकार’ को संज्ञा दिए


काठमाडौं, १ असोज । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नागरिकहरुबाट निर्वाचित सरकारलाई अपदस्थ गरेर अनागरिक सरकार स्थापित गरिएको टिप्पणी गरेका छन् । आज (बुधबार) जेन–जी आन्दोलनको क्रममा आगजनीबाट ध्वस्त भएको च्यासलको पार्टी कार्यालयको निरीक्षणमा पुगेका बादलले संसद् विघटन र अन्तरिम सरकार गठनलाई असंवैधानिक कदम भनेका हुन् । केपी शर्मा ओली नेतृत्वको नागरिकबाट निर्वाचित सरकारलाई अपदस्थ गरी संसद् विघटन पनि गरिएको भन्दै उनले आपत्ति जनाए ।

उनले भने,‘अहिले यो लोकतन्त्रलाई जसरी अपदस्थ गरिएको छ, नागरिक सर्वोच्चताको प्रतीक भनेको चाहिँ संसद् हो । संसद्लाई विघटन गरिएको छ । नागरिकहरुले निर्वाचित गरेको सरकारलाई अपदस्थ गरिएको छ, विघटन गरिएको छ । अहिले अनागरिक सरकार स्थापित गरिएको छ । यो असंवैधानिक कदमहरुको हाम्रो पार्टीले विरोध गरिराखेको छ ।’