काठमाडौं, २ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधान दिवसको अवसरमा पहिलोपटक शुभकामना दिएको छ । नेपालको संविधान २०७२ जारी भएपछि भारतले सार्वजनिक रूपमा शुभकामना दिएको थिएन । तर, आज भारतीय प्रधानमन्त्री मोदीले संविधानको नाम नलिईकन नेश्नल डे’को अवसरमा भनेर शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपालप्रति भारतले देखाएको दृढ समर्थनका लागि भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएकी छिन् । आज (बिहीबार) अपरान्ह मोदीसँग प्रधानमन्त्री कार्कीको भिडिओ सम्वाद भएको थियो । सो क्रममा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्ने भारतीय प्रधानमन्त्री मोदीको इच्छालाई प्रधानमन्त्री काकीएले समर्थन गरेकी छिन् ।
यस्तै, भारतीय प्रधानमन्त्री मोदीले नेपालकी प्रधानमन्त्री कार्कीलाई उनको नियुक्तिमा बधाई दिंदै भारत सरकार र भारतीय जनताको तर्फबाट शुभकामना व्यक्त गरेका छन् । मोदीले नेपालमा हालै भएका विरोध प्रदर्शनका क्रममा भएको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गरेको पनि नेपालस्थित् भारतीय दूतावासले जनाएको छ । मोदीले दुई देशबीचको विशेष सम्बन्धलाई थप सुदृढ पार्न सदैव मिलेर काम गर्न भारत तत्पर रहेको र शान्ति र स्थिरता पुनस्र्थापना र नेपाली जनताको प्रगतिका लागि नेपालको प्रयासमा भारतको पूर्ण समर्थन रहेको कुरा व्यक्त गरेका थिए ।
यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपालको आउँदो राष्ट्रिय दिवसको अवसरमा शुभकामना पनि दिए । दुवै प्रधानमन्त्रीले निरन्तर सम्पर्कमा रहने सहमति जनाएको दूतावासको दाबी छ ।




प्रतिक्रिया