काठमाडौं, ३ असोज । गणतन्त्रका नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले वर्तमान संविधान धेरै लामो संघर्ष र बलिदानीपछि आएको र यो संविधान समावेशी रहेको बताएका छन् । संविधान दिवसको अवसरमा आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा पूर्व राष्ट्रपति यादवले नेपालको संविधान २०७२ सुन्दर भएको बताए ।
तर, प्रयोगकर्ताहरुले गलत गर्दा संविधान कार्यान्वयनमा समस्या आएको उनको तर्क छ । उनले नेपालको संविधान क्षतिविच्छेद नभएको दाबी गरे । उनले भने,‘अहिले सम्माननीय राष्ट्रपतिजीले जुन एउटा निकास दिनुभएको छ, त्यो निकासले ६ महिनाभित्रै चुनाव गराउने, न्यायमूर्तिको नेतृत्वमा सरकार बनेको छ, जसको स्वच्छ छवि छ । यो संविधान पूरै ट्रयाकमा आउँछ । अहिले राष्ट्रपतिले निकाल्नुभएको बाटोभन्दा अर्को बाटो अहिले थिएन । हामी सबै नेपालीले, युवा पुस्ताले पनि संयमताका साथ चुनावमा गएर संविधानमार्फत जानुपर्छ ।’
संविधानमा भएको त्रुटि सुधार गरेर समयसापेक्ष बनाउनुपर्ने उनको तर्क छ । प्रत्यक्ष निर्वाचनमा जाँदा देशलाई असर गर्ने उनको आँकलन छ । अब निर्वाचित भएर आउने सांसदहरुले संसद्मा मन्थन गरेर संविधानलाई सुधार गरेर अघि बड्ने उनको विश्वास छ । उनले भने,‘यो संविधान अहिलेपनि ट्रयाकमा छ । राष्ट्रपति हुनुहुन्छ । संविधान छँदैछ । राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई शपथग्रहण गराईएको छ ।’ उनले मुख्य दलहरुलेपनि अब कहाँ गल्ती भएको थियो भनेर समिक्षा गर्नुपर्ने सुझाव दिए ।
उनले भने,‘पहिलो दिन भदौ २३ गते जुन नरसंहार भयो, युवाहरुको त्यत्रो नरसंहार भयो, त्यो चाहीँ गृह प्रशासन र यो सरकारको कमजोरीले भयो । दोस्रो दिन, यसमा छद्यमभेषीहरु पसे, त्यसले देशमा हाम्रो सार्वजनिक सम्पत्ति, धरोहरदेखि लिएर आक्रमण गर्यो, यो भनेको लोकतन्त्रमाथि आक्रमण गरेको छ । यसमा न्यायिक आयोग बनाएर यसलाई सही ढंगले छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ । खरबौंको सार्वजनिक सम्पत्ति नष्ट भएको छ । कस्तो नेपाली छ ? जसले यस्तो उपद्रवो गरेको छ ।’




प्रतिक्रिया