जेन–जीहरूले सल्काएको यो बारूद पार्टीभित्र पनि सल्केको छ : सुदन किराती (भिडिओ सहित)


काठमाडौं, ३ असोज । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले जेन–जीहरुले सल्काएको बारूद पार्टीभित्र पनि सल्किसकेको बताएका छन् । उनले भने,‘जेन–जीहरुले सल्काएको यो बारुद छ नि, त्यो चाहीँ पार्टीभित्र पनि सल्किएको छ । रुपान्तरणको त विकल्प नै छ । दुई महिना लाग्ला, ६ महिना लाग्छ, अब पनि रुपान्तरण हुन सकेन भने लार्भाहरु पुतली हुने छैनन् ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले पार्टी रुपान्तरणको आवश्यकत्ता औंल्याएका हुन् । उनले प्रदेश संरचनाहरु कमजोर हुनुको कारण सिंहदरबारलाई देखाएका छन् । सिंहदरबारमा बसेका प्रधानमन्त्री, मन्त्रीहरु र कर्मचारीहरु लोभी भएको र आफ्नो अधिकार तलसम्म नपुर्याएको कारण संघीयता कमजोर भएको उनको तर्क छ ।

उनले फागुन २१ गते हुने निर्वाचनको लागि दलहरु तयार रहेको बताए । पूरानै संरचना र संस्कृति बोकेर चुनावमा गइयो भने पराजित हुने सम्भावना रहेको उनको भनाई छ । त्यही भएर आफूहरुले रुपान्तरणको आवाज उठाएको पनि किरातीको भनाई छ । उनले भने,‘अबको स्थानीय तहमा २५ वर्षको युवा पुस्तालाई चुनावमा उठाऔं, प्रदेशसभामा ३० वर्ष मुनिकालाई उठाउँ, अनि केन्द्रीय संसद्मा ४० वर्ष या ५० वर्ष मुनिकालाई पठाउँ, अरुले पार्टी हेरौं । यस्तो प्रस्ताव गर्नुपर्छ । हाम्रो पार्टीले यस्तो नीति बनाउनुपर्छ ।’