काठमाडौं, ३ असोज । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले घोषित मितिमै आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्ने अहिले राष्ट्रको प्रमुख कार्यभार भएको बताएका छन् । संविधान दिवसको अवसरमा आज शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । उनले आवश्यकताअनुसार संविधान परिमार्जन गरिनुपर्ने पनि मत राखेका छन् ।
जेन–जी आन्दोलनको सफलतालाई देश र जनताको हितमा पूर्ण उपलब्धिमुलक बनाउने दिशामा जानुको सट्टा त्यसलाई तुहाउने वा नेपाल र नेपाली जनताबिरोधी कुनै रणनितीक स्वार्थको सेवामा यसलाई प्रयोग गर्ने षड्यन्त्र सफल हुन नपाओस भनेका छन् ।
उनले लेखेका छन्–
आज संविधान दिवसका अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली आमा ( बुबा ,दिदी ( बहिनी ,दाजु (भाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आजको दिन नेपाली जनताले दशकौको बालिदानपूर्ण सङ्घर्षबाट हासिल गरेको ऐतिहासिक लोकतान्त्रिक राजनीतिक परिवर्तन र नेपाली जनताले आफूमा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै आफ्ना निर्वाचित प्रतिनिधिहरु रहेको संविधानसभा बाट जारी गरेको संविधानको रक्षा गर्ने र त्यसलाई आजको आवश्यकता अनुसार संशोधन एवं परिमार्जन गर्दै अघि बढ्ने संकल्प गरौं ।संविधान र लोकतन्त्र देश र जनताको हितको लागि हुनुपर्छ भन्ने कुरालाई आत्मसात गर्दै राष्ट्रिय सार्वभौमिकताको रक्षा , भ्रष्टाचार विरुद्धको सुशासन अभियान , राजनीतिको सफाई ,राजनीतिक स्थायित्व र समृद्धिको दिशामा फड्को मार्ने उद्देश्यका लागि जेन जी आन्दोलनको बलिदानलाई सार्थक बनाऔ। जेन जी आन्दोलनको सफलतालाई देश र जनताको हितमा पूर्ण उपलब्धिमुलक बनाउने दिशामा जानुको सट्टा त्यसलाई तुहाउने वा नेपाल र नेपाली जनताबिरोधी कुनै रणनितीक स्वार्थको सेवामा यसलाई प्रयोग गर्ने षड्यन्त्र सफल हुन नपाओस् ।यस सन्दर्भमा यतिबेला घोषित मितिमा आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु नै राष्ट्रको तात्कालिक केन्द्रीय कार्यभार हो । सबै यसमा स्पष्ट र दृढ होऔं।
Photo Source: Narayankaji Shrestha/Facebook




प्रतिक्रिया