संविधानलाई करेक्सन गर्नुपर्छ, संविधान र कानूनले जनादेशलाई पछ्याउनुपर्छ : डा. खिमलाल देवकोटा


काठमाडौं, ३ असोज । राष्ट्रियसभाका पूर्व सदस्य तथा संघीयताविज्ञ डा. खिमलाल देवकोटाले संविधान परिमार्जन गरेर आजको आवाजलाई सम्बोधन गरिनुपर्ने मत राखेका छन् । उनले मुलुकलाई क्रिडास्थल नबनाउनको लागि पनि चुनावमा जानुपर्ने मत राखेका छन् ।

आज संविधान दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले अहिलेका उपलब्धिलाई संस्थागत गर्ने र फागुन २१ गते हुने चुनावमा जाने वातावरण मिलाउनको लागि आग्रह गरे । उनले वर्तमान सरकारले चुनावको लागि पनि पूराना दलसँग सहकार्य गर्नुपर्ने सुझाव दिए ।

आफूले पटक–पटक कांग्रेस र एमालेजस्ता दुई ठूला दल सरकारमा जान नहुने भनेर वकालत गरेको र सार्वजनिक रुपमा खबरदारी गरेको पनि देवकोटाले स्मरण गराए । उनले भने,‘पहिलो र दोस्रो ठूला दल सरकारमा जानु हुँदैन भनेर मैले बोलेको थिएँ, मन्त्रालयमा मन्त्री र सचिवहरुको कार्यकक्षमा सिसिटिभी राख्नुपर्छ किनकी भ्रष्टाचारको जड त्यही हो भनेको थिएँ ।’

उनले सानो/तिनो कामको लागि नागरिकलाई सिंहदरबार धाउन नपरोस भनेर नै संघीयता ल्याईएको स्मरण गराए । तर, संघीयता कार्यान्वयनको सवालमा त्रुटि भएको उनको भनाई छ । उनले भने,‘सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्याउनुपर्छ भनेको हो । अहिलेको संविधानले सिंहदरबारकेन्द्रित अधिकारलाई जनताको घरदैलोमा पुर्याएको छ । तर, संविधानको भावनाअनुसार सरकार चलेनन् । विधिको शासन भएन । लोकतन्त्रमा विश्वास गर्छु । विकेन्द्रीकरणको विद्यार्थी हो ।’

मुलुकको संविधान र कानूनले जनादेशलाई पछ्याउनुपर्ने उनको मत छ । उनले अहिलेको संविधानलाई करेक्सन गर्नुपर्ने पनि आवश्यकता औंल्याए । स्विट्जरल्याण्डमा १७७ वर्षदेखि संघीयता रहेको र राम्रोसँग काम गरेको उदाहरण पनि दिए ।

उनले भने,‘स्विट्जरल्याण्ड कर्णालीभन्दा अलिकति ठूलो छ । त्यहाँ २६ वटा प्रदेश छ । कसरी चलेको छ भन्ने महत्व कुरा । हामीमा सांसदहरुको संख्या धेरै भयो । समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्छ । समानुपातिक–समावेशिताको इस्यु प्रत्यक्ष निर्वाचनमा समावेश गर्नुपर्छ । १६५ निर्वाचन क्षेत्रमा दलित, महिला सबैलाई प्रतिष्पर्धा गराउनुपर्छ । स्विट्जरल्याण्डमा सांसदलाई तलव तथा सुविधा नदिने रहेछ, संघमा ७ जनाको मन्त्रिपरिषद् छ, हाम्रो देशमा त राजनीति कमाई खाने भाँडो भयो ।’

उनले नेपालमा संघीयता कार्यान्वयनको सवालमा कानून बनाएर अधिकार दिन खोजेको भएपनि त्यसो हुन नसकेको स्विकारे । अब संविधानलाई पनि करेक्सन गरेर अहिलेको जनभावनालाई आत्सात् गरेर जानुपर्ने देवकोटाको मत छ ।