काठमाडौं, ४ असोज । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले देश रोइरहेको भन्दै गणतन्त्रलाई कमजोर बनाउने गरी अहिले पनि चलखेल भइरहेकाले सचेत हुन जरूरी रहेको बताएकी छिन् । उपाध्यक्ष शाक्यले जेनजी आन्दोलनमा स्वार्थी तत्वहरूको घुसपैठका कारण युवाहरूले ज्यान गुमाउनु परेको बताएकी हुन् ।
‘शोकलाई शक्तिमा बदल्न नयाँ ढङ्गले अघि बढ्नुपर्छ । निराश हुनुपर्ने छैन, निदान छ, हामीसँग लक्ष्य बोकेको संविधान छ’, उपाध्यक्ष शाक्यले भने,‘निर्वाचित प्रतिनिधि सभा अत्तालिएर विघटन गर्न पुगियो भन्ने लागिरहेको छ । संविधान अपरिवर्तनीय होइन, यसमार्फत नयाँ नेपाल निर्माण गर्नुपर्छ ।’
उनले गणतन्त्रलाई अहिले पनि कमजोर बनाउन चलखेल भइरहेको आरोप लगाईन्। उनले भनिन्,‘इतिहास कसरी कोर्ने हो ? त्यसमा पनि छलफल गर्नुपर्छ । इतिहासको पानालाई गर्व गर्नसक्नेगरी इतिहास थप्ने हो, संयम हुन जरूरी छ । सबै राजनीतिक दलहरूले नयाँ सोचका साथ राम्रा कामको आत्मसात गर्दै कमीकमजोरी सच्चाएर अघि बढ्नैपर्छ ।’




प्रतिक्रिया