काठमाडौं, ४ असोज । सर्वोच्च अदालतका पूर्व न्ययाधीश बलराम केसीले फागुन २१ गते चुनाव हुने कुरामा आफू आशावादी रहेको बताएका छन् । आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले चुनाव हुने सम्भावना देखेको बताए ।
उनले भने,‘चुनाव हुने सम्भावना म देख्छु । कुनै दलहरुले विथोले भने बेग्लै कुरो हो । अहिले देशलाई बिग्रिएको देख्न चाहनेहरुको लागि बेग्लै कुरा हो, शान्ति–सुरक्षा चाहन्छौं, जेनजी युवालाई नेतृत्वमा लिएर आउँछौ र बाजे नेतालाई फाल्छौं भने राम्रो कुरा हो । चुनाव त अतिआवश्यक छ ।’ पूर्व न्यायाधीश केसीले नेपालमा यतिवेला अन्तर्राष्ट्रिय समूदायले पनि हेरिरहेको भन्दै चुनावको लागि नेपाली जनताले सहयोग गर्ने विश्वास दिलाए ।
नेपाली जनता, नेपाली सेना र सुरक्षा निकायले पनि सहयोग गर्ने हुँदा फागुन २१ गते चुनाव हुने उनको विश्वास छ । नेपाली जनताले अहिले बाजे नेताहरुलाई बहिष्कार गर्ने आधार सुनाए । जेन–जी आन्दोलनको क्रममा मारिएका युवाहरुप्रति अहिलेका पूराना दलका नेतृत्वले सहानुभूति प्रकट नगरेको उनको गुनासो छ ।
उनले भने,‘अहिले जो जो अस्पतालमा छन्, उनीहरुलाई गएर यी नेताले हेरेनन् । हामी उपचारमा सहयोग गर्छौ, तपाईंहरु भविष्यको नेता हो भनेर कसैले पनि भनेनन् ।’ केसीले निर्वाचन हुनुअघिको यो ६ महिनाको अवस्थालाई गम्भीर भएर सोच्ने बेला भएको तर्क गरे । उनले नेपाल असफल राष्ट्र भैसकेको दाबी गरे ।
यही ताल हो भने जापान, अमेरिकालगायतका देशले स्यांक्सन लगाउन बेर नभएको उनको तर्क छ । यो ६ महिनाको समयमा जेन–जी पुस्तालाई नेतृत्वमा ल्याउनुपर्नेमा उनको जोड थियो । उनले बाजे नेतालाई अब देश चलाउने कुरामा रोक्नुपर्ने पनि तर्क गरे ।




प्रतिक्रिया