स्रष्टा पदयात्रा नेपालले भन्यो : जेन–जी आन्दोलनको भावनाअनुसार देश अघि बढाउनुपर्छ (भिडिओ)


काठमाडौं, ४ असोज । ‘स्वास्थ्य र सिर्जनाको लागि पदयात्रा’ स्रष्टा पदयात्रा नेपालले जेन–जी आन्दोलनको भावनाअनुसार देशलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएको छ । जेन–जी आन्दोलनको १३ दिनमा आज (शनिबार) काठमाडौंको माईतीघरमा जेन–जी शहीदहरुको सम्झनामा दीप प्रज्वलनलगत्तै माईतीघर मण्डलाबाट भृकुटीमण्डपसँग पदयात्रा गरी रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष श्रद्धाञ्जली सभामार्फत स्रष्टा पदयात्रा नेपालले यस्तो धारणा सार्वजनिक गरेको हो ।

बदलिँदो परिस्थितिमा देशलाई शान्ति र स्थिरताको पक्षमा अघि बढाउनुपर्ने स्रष्टा लेखकहरुको साझा धारणा थियो । उनीहरुले यही भदौ २३ गते भएको जेन–जीको आन्दोलन सही रहेको भन्दै यसको उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिएका थिए । सो क्रममा स्रष्टाहरुले आफ्ना सिर्जनाहरु वचन गरेका थिए ।

यसरी आफ्नो सिर्जना वाचन गर्नेमा प्रा.डा. खगेन्द्रप्रसाद लुँर्ईटेल, डा. बालचन्द्र मिश्र, डा. शशि थापा पण्डित, डा. यादवी ढकाल, शितल गिरी, गंगाप्रसाद भेटवाल, विमल अर्याललगायतका तीन दर्जन सर्जकहरुले थिए । उनीहरुले मुलुकलाई यथास्थितिमा राख्न नहुने मत राखेका थिए । जेनजीको उद्देश्यलाई सुरक्षित राख्दै मुलुक अघि बढाउनुपर्छ भन्ने उनीहरुको साझा बुझाई थियो ।

कार्यक्रमको सञ्चालन भने स्रष्टा पदयात्रा नेपालका महासचिव गंगाप्रसाद भेटवालले गरेका थिए । यो संस्थाले ७७ वटै जिल्लामा भ्रमण गरेर देशलाई अग्रगमनतर्फ अघि बढाउन अपिल गरेको छ । जसअन्तर्गत धेरै जिल्लामा भ्रमण भैसकेको छ । यो ९८औं श्रृंखला हो । महिनामा एक पटक हुने श्रृंखला हरेक महिनाको पहिलो शनिबार हुन्छ । त्यहीअन्तर्गत आजको कार्यक्रम आयोजना गरिएको हो ।