संघर्षसहित चुनावी मैदानमा होमिन पार्टी पँक्तिलाई प्रभु साहको निर्देशन


काठमाडौं, ४ असोज । आम जनता पार्टीले देशको अवस्था बदल्न व्यवस्था बदल्नुपर्ने र राष्ट्रिय स्वाधिनता बचाउन संघर्ष गर्नुपर्ने आवश्यकत्ता औंल्याएको छ । आज (शनिबार) बसेको पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय लिएको हो । आजपाले अहिले देश विषम परिस्थितिबाट गुज्रिरहेकोले नयाँ निकास खोजिनुपर्ने माग गरेको छ ।

अध्यक्ष प्रभु साहले देशको पछिल्लो अवस्थाबारे प्रकाश पार्दै पार्टी पँक्तिलाई संयमित र चनाखो भएर संघर्षसहित चुनावी अभियानमा मैदानमा होमिन अपिल गरेका छन् । साहले जनसंघर्षलाई निर्वाचनसँग जोड्नपनि आम पार्टी पँक्तिलाई आह्वान गरेका छन् ।

साहले भने,‘अहिले देश विषम परिस्थितिबाट गुज्रिरहेको छ । दुई तिहाईको केपी ओली र शेरबहादुर देउवाको सरकार बर्खास्त भएको छ । ससद् विघटनसहित अन्तरिम सरकार बनेको छ । भ्रष्टाचारमुक्त नेपाल बनाउने युवाहरुको चाहनाअनुरुप नयाँ संविधानसहित नयाँ सरकार बन्नुको साटो उही पूरानै नेताहरुको सहमति र संयोजनमा नयाँ सरकार बनेको छ । आन्दोलनको मुद्दालाई कुर्सीसँग साट्ने यस खेलले जनतामा असन्तुष्टि र आक्रोश बढ्दो छ । यस जटिल एवं चूनौतिपूर्ण अवस्थामा देशलाई अगाडि बढाउन यस घट्नाक्रमले गम्भीर समीक्षा जरूरी छ ।’