काठमाडौं, ५ असोज । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था, संविधान र गणतन्त्रप्रति भन्दापनि अवस्थाप्रति मान्छेहरुको आक्रोश रहेको स्पष्ट पारेका छन् । उनले मुलुकमा ठूला ठूला राजनीतिक आन्दोलन र क्रान्ति भएर व्यवस्था परिवर्तन हुँदापनि जनताको अवस्था परिवर्तन हुन नसक्दा अहिले जनआक्रोश बढेको आफ्नो बुझाई रहेको स्पष्ट पारेका छन् ।
हिजो (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । देशको राजनीतिक अवस्थासँगै आर्थिक अवस्थापनि सुधार गरिनुपर्नेमा त्यस्तो नभएकोमा जनताको आक्रोश बढेको दाहालको दाबी छ ।
उनले राजनीतिक दलहरु सबै रुपान्तरण हुनुपर्नेमा जोड दिए । अहिले निर्वाचनमा भाग लिनेगरि दलहरुले तयारी गरेको अवस्थामा पहिले सुधार र रुपान्तरण हुनुपर्ने उनको मत छ । अहिले जनताको आक्रोश पनि नेताहरुको व्यवहारप्रति भएकोले उनीहरु सुध्रिनुको विकल्प नै नभएको दाहालको भनाई छ ।
दाहालले यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन् । पत्रकार धमलाले ‘तपाईं र प्रचण्ड मिलेर राजसंस्था फर्काउन लाग्नुभएको छ, पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउन चाहनुभएको छ’ भन्ने हल्ला छ भनेर सोधेको प्रश्नमा दाहालले भने,‘तिनलाई देख्न पाएदेखि राम्रै स्वागत गर्नुहुन्थ्यो । तपाईंको कति राम्रो विचार, कस्तो राम्रो हुनुहुँदो रहेछ भन्नुहुन्थ्यो क्या । पहिलो कुरा त तपाईंले मलाई यो प्रश्न सोध्नु नै दुस्साहस हो । यो बेकारको कुरा हो । प्रचण्ड त्यत्रो लडेर आएको मान्छे हो ।’




प्रतिक्रिया