काठमाडौं, ५ असोज । परराष्ट्रविद् तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले देशको लागि आगाी दिन अत्यन्तै चूनौतिपूर्ण रहेको औंल्याएका छन् । अब देशमा थप द्वन्द्व र क्षति नहोस भनेर सरकार, नागरिक समाज र सबैले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने उनको मत छ ।
आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले देशकासामू अहिले गम्भीर चुनौति रहेको औंल्याए । नेपालका राजनीतिक दलका नेताहरुले आफ्नै नाति पुस्ताको भावनालाई समयमा बुझ्न नसकेको कारण अहिले यस्तो विस्फोट भएको उनको तर्क छ ।
नेपालको राजनीतिमा अध्यात्मिक चेत नै नभएको उनको आरोप छ । दलहरु गम्भीर नभए देशले अर्को संकट व्यहोर्नुपर्ने अवस्था आउनसक्ने भन्दै त्यस्तो नहोस भनेर कामना गरेका छन् । जेन–जी आन्दोलनको क्रममा दमन गर्न आदेश नदिएको र त्यहाँ प्रयोग भएको हतियार नेपाल प्रहरीको होईन भनेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर पनि उपाध्यायले आश्चर्य व्यक्त गरे ।
उनले भने,‘सबभन्दा पहिले यसकै छानबिन हुनुपर्यो, उहाँले झुठो वक्तव्य दिनुभएको रहेछ भने योभन्दा गैरजिम्मेवारीपूर्ण अरु अभिव्यक्ति वा हर्कत हुन सक्दैन । त्यो तहमा बसेका व्यक्तिहरुले यसकिसिमको गैरजिम्मेवारी देखाउने हो र ? उहाँले भनेको कुरा सही रहेछ भने यसको त गम्भीर रुपले छानबिन हुनुपर्यो, सरकारले यसको बारेमा बोल्नुपर्यो । अझै पनि व्यक्तिको पछाडि लागेर, हामीले सधैं भन्ने गरेका थियौं कि अहंकार र दम्भले कहीँ पुर्याउँदैन ।’




प्रतिक्रिया