फागुन २१ को निर्वाचनबारे प्रचण्डको टिप्पणी : निर्वाचन हुन नदिन विदेशी प्रतिक्रियावादीले षड्यन्त्र गरिरहेका छन्


काठमाडौं, ९ असोज । नेकापा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचन हुन नदिन देशी तथा विदेशी शक्तिहरुले हुन नदिनको लागि षड्यन्त्र गरिरहेको आशंका व्यक्त गरेका छन् । आजबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेश गर्ने क्रममा उनले यस्तो खतरा औंल्याएका हुन् ।

उनले भनेका छन्,‘देशी विदेशी प्रतिक्रियावादीहरुले आगामी फागुन २१ मा घोषित आम निर्वाचनलाई सम्पन्न हुन नदिने र देशलाई थप संकटतर्फ धकेल्ने षडयन्त्र गरिरहेको सन्दर्भमा हाम्रो पार्टी दृढतापूर्वक तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन र तयारीमा सम्पूर्णरुपले होमिनु पर्दछ ।’ प्रचण्डले फागुन २१ गतेको निर्वाचनको लागि पार्टी पँक्ति होमिनुपर्नेमा जोड दिएका छन् ।

महाधिवेशन र निर्वाचन तयारीको कामलाई सँगसँगै अगाडि बढाउनु पर्दछ । निर्वाचनमा जेन जी तथा युवा पुस्ताको उल्लेख्य उम्मेदवारी चयनका लागि लोकतान्त्रिक विधि र सहभागितामूलक पद्दति अपनाउने तथा युवा पुस्ता र नयाँ अनुहारलाई प्राथमिकता दिने नीति लिने ।