जनार्दन शर्माको दाबी : माओवादी विघटितप्राय छ, अध्यक्ष प्रचण्डको अपिल जनताले सुन्दैनन्


काठमाडौं, ९ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले विशेष महाधिवेशनको घोषणा प्रक्रियासँगै अध्यक्षलगायत दुईदेखि तीन दशकसम्म एउटै पदमा रहँदै आएका सबै पदाधिकारीले एकसाथ राजीनामा दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा जनार्दनले अध्यक्ष प्रचण्डलगायत सबैले आगामी महाधिवेशनमा निर्वाचनको प्रक्रियामा सामेल नहुने निर्णय यही बैठकमार्फत लिनुपर्ने अपिल गरेका छन् । बरु, उनले अध्यक्षसहित सबै पदाधिकारी रहनेगरि एक निर्देशक कमिटीको रुपमा काम गर्नेगरि संयन्त्र निर्माण गर्न भनेका छन् । उनले राष्ट्रियताको रक्षाकोल ागि जनताको समर्थनको कुरामा जनताको समर्थनको लागि पनि जनताले आवाज सुन्नेगरि जनतालाई अपिल गर्नसक्ने नयाँ अनुहारहरु अगाडि सार्नुपर्ने पनि मत राखेका छन् ।

उनले भनेका छन्,‘अहिलेकै नेतृत्वमा गरिने अपिलहरु जनताबाट सुनिने अवस्था छैन, त्यसर्थ आ–आफ्नो कमीकमजोरीहरुप्रति आत्माआलोचित हुँदै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौं र समग्र पूनर्गठनमा मद्दत पुर्याउँ । यसको अर्थ यो होइन कि अध्यक्ष प्रचण्डले गरेको योगदान र उहाँको टिमको भूमिकालाई नजरअन्दाज गरौं । अध्यक्ष प्रचण्डले जनयुद्धअगाडि गरेको सांगठानिक योगदान, जनयुद्धमा गरेको ऐतिहासिक नेतृत्व र जनयुद्धपछिको योगदानलाई उच्च सम्मान गरौं । आज इतिहासले दिएको यही नै एउटा विकल्प हो ।’ उनले माओवादी यतिवेला विघटितप्राय अवस्थामा रहेको टिप्पणी गरेका छन् । file photo