केपी ओलीलाई पहिलो कारबाही हुनुपर्छ : जेन-जी अगुवा रक्षा बम (भिडिओ सहित)


काठमाडौं, १० असोज । जेन-जी आन्दोलनकी अगुवा रक्षा बमले लोकतन्त्रमा निषेध हुन नहुने बताएकी छिन् । उनले दलका नेताहरुलाई सोही दलका साथीहरुले प्रश्न गरेर सुधारेर ल्याउनुपर्नेमा जोड दिईन् । उनले भ्रष्टाचार गर्ने हरेक नेताहरुलाई कारबाही हुनुपर्ने बताईन् ।

आज (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्ड, ललिता निवास, वाइडबडीलगायतका काण्डमा आवद्ध भएकाहरुलाई कारबाही हुनुपर्ने माग गरिन् । जेन-जी आन्दोलनको क्रममा आफ्ना साथीहरुलाई टाउकोमा ताकी ताकी गोली हानी हत्या गरेको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिलो कारबाही हुनुपर्ने उनको माग छ ।

उनले आफूलाई ओलीप्रति त्यस दिनको घट्नाको कारण आक्रोश रहेको सुनाईन् । उनले अब ओलीलाई कुनैपनि नेतृत्वमा आफुहरुले देख्न नचाहेको पनि टिप्पणी गरिन् । उनले भनिन्,”उहाँलाई अब हाम्रो शासकका रुपमा त झनै देख्न चाहँदैनौं । शासक आँफैमा एउटा निरंकुश शब्द हो ।”

उनले पाका नेताहरुले अब नेतृत्व छाड्नुपर्ने माग गरिन् । देशका पाका नेताहरुले कालो सिसावाला गाडीमा सवार गर्ने गरेको भएपनि सडकमा जनताको आक्रोशको तह कुन हदसम्म बढेको थियो भन्ने थाहा नै नपाएको पनि उनको भनाई छ ।