केपी ओलीकै नेतृत्वमा गएर जनताबाट अनुमोदित भएर आउनसक्ने सम्भावना छैन : उषाकिरण तिमिल्सिना (भिडिओ सहित)


काठमाडौं, ११ असोज । नेकपा (एमाले) की युवा नेतृ उषाकिरण तिमिल्सिनाले जेन–जी विद्रोहपछि अब एमालेमा यही नेतृत्व लिएर अघि बढ्न सकिँदैन भनेर पार्टीका नेताहरु छलफलमा जुटेको बताएकी छिन् । उनले आफूहरुको तहमा पनि अबको परिस्थितिमा कसरी अघि बढ्ने भनेरपनि छलफल थालेको जानकारी दिईन् ।

आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले समाजको मनोभावनालाई आत्सात नगरिकन राजनीति अघि बढ्न नसक्ने टिप्पणी गरिन् । अहिलेका अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा गएर जनताबाट अनुमोदित भएर आउनसक्ने सम्भावना आफूले नदेखेको उनको भनाई छ ।

अहिलेका पार्टीका नेतृत्वहरुलाई समाजले अस्विकार गरिसकेको उनको तर्क छ । उनले एमालेमा अध्यक्ष ओलीसहित अरु पाका नेताहरुलाई पनि अहिले नै विश्राम लिन सुझाएकी छिन् । यही बेला नेताहरुले विश्राम लिएर ग्रेसफुल एक्जिट हुनसक्ने उनको भनाई छ ।