हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान होइन : सुदन गुरूङ


काठमाडौं, ११ असोज । हामी नेपालका संयोजक सुदन गुरूङले हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान नभएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजमात्रै आफूहरुको निवासको लोकेट गरिएको कुरा आएको भन्दै सरकारले सुरक्षा दिन नसक्ने हो ? भन्दै प्रश्न गरेका थिए । यही सन्दर्भमा गुरूङको यस्तो भनाई आएको हो ।

उनले फेशबुकमार्फत यस्तो धारणा राखेका हुन् । उनले अहिले देशमा निर्वाचनको मिति तोकिएकोले त्यो नै आफूहरुको शक्ति, एकता र दृष्टि देखाउने अवसर भएको बताएका छन् । उनले शान्तिपूर्ण तरिकाले, अनुशासन र साहसको साथ त्यस दिनको तयारीमा आफूहरुको उर्जा प्रयोग हुनुपर्ने धारणा राखेका छन् ।

यस्तो छ उनको धारणा :

मलाई थाहा छ अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ। तर हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान होइन। यस्ता कार्यहरूले हाम्रो देशलाई अझै ठूलो क्षति पु¥याउन सक्छन् र हामी लडिरहेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छन्।

हामीसँग पहिले नै निर्वाचनको मिति तोकिएको छ। त्यो नै हाम्रो शक्ति, हाम्रो एकता, र हाम्रो दृष्टि देखाउने अवसर हो। त्यसैले शान्तिपूर्ण तरिकाले, अनुशासनका साथ र साहसका साथ त्यस दिनको तयारीमा हाम्रो ऊर्जा प्रयोग गरौँ।

हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन। निर्माणको हो, विनाशको होइन। सम्पूर्ण देशलाई देखाऔँ कि जेन जेड (Gen Z) क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ।

शान्त रहौँ, दृढ रहौँ, जय देश