जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुन्छ : गजुरेल


काठमाडौं, १२ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टीको नेतृत्व कसले लिने वा कसलाई दिने भन्ने अधिकार कसैको व्यक्तिगत हातमा नभएको बताएका छन् । उनले अबको नेतृत्व महाधिवेशनको निर्णयले नै टुँगो लगाउने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत गजुरेलले अहिले नेतृत्व लिने कुराको चिन्ता गर्ने बेला नभएको बरु चिन्तन गर्नुपर्ने बेला भएको बताएका छन् । पार्टीमा जसको विचार बलियो हुन्छ त्यसको नेतृत्व स्वतः स्थापित हुने पनि उनको भनाई छ ।

उनले लेखेका छन्–

माओवादी केन्द्रको बैठक सफलतापूर्वक सम्पन्न भइसकेको छ – महाधिवेशन गर्ने निष्कर्षसहित। कमरेड प्रचण्डको सहमतिसहित नेतृत्व लिन खोजिएको प्रयास असफल भएपछिको अबस्थामा के गर्नु उपयुक्त हुन्थ्यो ? भन्ने प्रश्न आकांक्षीहरूले आफैं बुझ्नुपर्ने विषय हो। अब नेतृत्व कसले लिने वा कसलाई दिने भन्ने अधिकार कसैको व्यक्तिगत हातमा छैन – त्यो त महाधिवेशनकै निर्णयले टुङ्गो लगाउने कुरा हो।

त्यसैले अहिले चिन्ता नेतृत्व लिनु होइन, चिन्तन गर्नुपर्ने बेला हो। जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुन्छ। आज पनि जेनेरेसन–जीले खोजिरहेको कुरा त्यही हो – वैचारिक स्पष्टता सहितको इमानदार र क्षमतावान नेतृत्व, जसले आन्दोलनलाई नयाँ दिशा दिन सकोस्। पार्टीका संयोजक प्रचण्डले नेतृत्व निरन्तरता दिने वा अर्को भूमिकामा जाने भन्ने प्रश्न पनि यही आधारमै निर्भर गर्नेछ।