वर्तमान केन्द्रीय कार्य समितिसँग विश्वास र भरोसा छैन : गुरू घिमिरे


काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता गुरुराज घिमिरेले यही असोज २६ गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको पूनर्जीवनको ढोका खोल्ने वा नखोल्ने तय हुने बताएका छन् । आफूहरुको जीवन कुनै नेताविशेषमा समर्पित नभएको उनको भनाई छ ।

उनले भने,‘अब तुवाँलो फाट्नुपर्छ! यहाँ व्यक्ति वा नेताको मुख ताकेर बस्ने बेला छैन।हाम्रो जीवन कुनैं नेता बिशेषमा समर्पित छैन।राज्य सञ्चालनको अवसर पाएका हरेक नेताको परिक्षण भइसक्यो।अब बुझ्न,हेर्न,थाहा पाउन र भोग्न केही बाँकी छैन।पार्टीका हरेक सदस्यको योगदान र बलिदानको चरम अवमूल्यन भइसक्यो।मनपरि र स्वेच्छाचारले सिमा नाघ्यो।अब सहन सकिदैन।आगामी असोज २६ गतेको बैठकले कांग्रेस पुनर्जीवनको ढोका खोल्छ कि खोल्दैन,हेर्न बाँकी छ।’

उनले आफूहरुलाई अहिलेको केन्द्रीय कार्य समितिसँग विश्वास र भरोसा नभएको पनि टिप्पणी गरेका छन। फेशबुकमार्फत उनले आज आफ्नो धारणा सार्वजनिक गरेका हुन् । लोकतन्त्र र पार्टी जोगाउन आफूहरु सचेत र गम्भीर रहेको पनि उनले उल्लेख गरेका छन् ।

उनले थप भनेका छन्,‘बिशेष महाधिवेशन,महाधिवेशन प्रतिनिधिहरुको वैधानिक बिशेषाधिकार हो। हालसम्मका गतिविधि हेर्दा हामीलाई वर्तमान केन्द्रीय कार्य समितिसँग बिश्वास र भरोसा छैन। देश,लोकतन्त्र र पार्टी जोगाउन हामी सचेत र गम्भीर छौं।२६ गते अघि नैं हस्ताक्षर दर्ता गराउन जागरुक,सक्रिय र प्रतिबद्ध भएर लागौं। इतिहासको यस चुनौतीपूर्ण कालखण्डमा हामी नेपाली नागरिक र कांग्रेस सदस्यको भूमिका निर्बाह गर्न नचुकौं।’