अध्यक्ष ओलीको पासपोर्ट रोक्का गरेकोमा एमालेको आपत्ति, बोलायो केन्द्रीय कमिटी बैठक


काठमाडौं, १२ असोज । नेकपा (एमाले)को ५७औं केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओलीको पासपोर्ट रोक्का राख्नेबारे भएको निर्णयप्रति आपत्ति जनाएको छ । अध्यक्ष ओलीको गुण्डूमा बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो ।

भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले आज असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

एमालेले जारी गरेको प्रेस नोटमा यसअघि नै गृह मन्त्रालय मार्फत मिडिया ट्रायल गरेर अनि दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गम्भीर आपत्ति प्रकट गर्दछ भनिएको छ । यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको एमालेको ठहर छ ।

हालै गृह मन्त्रालयले भदौ २४ को विध्वंशकारी घटनामा संलग्न दोषीहरूलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै कुनै कार्बाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाई गरेको निर्देशनप्रति पनि एमालेको ध्यानाकार्षण भएको छ । उक्त निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानुनसम्मत क्षेत्राधिकारमाथि मात्रै हस्तक्षेप गरेको छैन, यसले अपराधीहरूको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको छ ।

पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७–२९ मा काठमाडौंँमा बस्नेगरि बोलाएको छ । दशैं सकिएलगत्तै सचिवालय बैठक पूनः बस्ने भनिएको छ ।