प्रचण्डको दशैं शुभकामना : ‘वर्तमान तरल परिस्थितिलाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउन माओवादी केन्द्र प्रतिबद्ध छ’


काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यतिवेला नेपाल जटिल राजनीतिक परिस्थितिमा रहेको बताएका छन् । विजया दशमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

दाहालले सुरुमै नेपाली जनताका महान् संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका मुद्दाहरूलाई गम्भीर आत्मसमीक्षा सहित सम्बोधन गर्नैपर्ने जटिल राजनीतिक परिस्थितिमा रहेको बताएका छन् । उनले भनेका छन्,‘हामीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका मुद्दा अहिले फेरि मुखरित भएका छन्। यो परिस्थितिमा महान जनयुद्धदेखि संविधान निर्माण र कार्यान्वयनसम्म निर्वाह गरेको जिम्मेवारीलाई निरन्तरता दिँदै वर्तमान तरल परिस्थितिलाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउन माओवादी केन्द्र प्रतिबद्ध रहेको छ।’

आफ्नो पार्टीले जेन जिका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको पनि दाहालले स्मरण गराएका छन् । उनले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा सहित आगामी मंसिरमा विशेष महाधिवेशनमार्फत जेन–जी सहित युवाहरूको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरे बमोजिम गृहकार्य भइरहेको जनाएका छन् ।

दाहालले वर्तमान जटिलतालाई चिरेर सामाजिक न्याय सहितको समृद्ध नेपाल निर्माणका पक्षमा दशैंजस्ता सांस्कृतिक अन्तर्घुलनका पर्वहरूले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । उनको शुभकामना सन्देशमा थप भनिएको छ,‘अन्तमा, विजया दशमी २०८२ ले हामी सबै नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन, र शोकलाई शक्तिमा बदल्ने प्रेरणा प्रदान गर्ने विश्वास लिँदै दशैं लगायतका पर्वहरूलाई सामाजिक एकता र अग्रगमनका पक्षमा संकल्प सहित मनाउन आह्वान गर्दछु।’