काठमाडौं, १५ असोज । नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणि दीक्षितले अहिलेको व्यवस्थाभन्दा राजसंस्था राम्रो थियो भनेर अहिले घरघरमा चर्चा चल्न थालेको पनि उनले सुनाए । उनले अब पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्पेस दिन सकिने प्रस्ताव राखे । तर, आफूले स्पेस देउ भनेर नभनेको पनि प्रष्टाए । नेपालमा राजसंस्थालाई स्पेस दिन सकियो भने देशमा झैझगडा कम हुने उनको विश्वास छ । उनले भने,”यो देशलाई फुटि फुटिकन बस्नुभन्दा जोड्नु राम्रो हुन्छ, राजसंस्थाले जोड्ने काम गर्छ, किनभने राजसंस्था निर्दलीय भएको हुनाले उसले जोड्न सक्छ । मैले त एउटा विकल्प सोचेको छु । नेपालमा सेरोमोनियल राजसंस्था आवश्यक छ । देशलाई जोडेर राख्नुपर्छ ।”
उनले २०६२ साल यता नेपालमा जेन्युन लोकतन्त्र नपाएको बताएका छन् । जेनजी आन्दोलनलाई उनले युवाहरुको जनविद्रोहको संज्ञा दिए । तर, युवाहरुले यत्रो विद्रोह गर्दापनि पूरानै संविधानमा टेकेर अघि बढ्नु उनीहरुको आन्दोलनप्रति नै धोका भएको उनको टिप्पणी छ । आज (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अहिलेको संविधानबाट समस्याको निकास खोज्न असम्भव भएको दाबी गरे ।
उनले अहिलेको संविधानबाट देशमा भ्रष्टाचारको अन्त्य गर्न नसकिने जिकिर गरे ।
सत्ताको नेतृत्वमा पुगेकाहरुले शक्ति कब्जा गरेको कारण उनीहरुलाई कारबाही गर्न नसकिएको उनको दाबी छ । देशमा चर्चित बनेका भुटानी शरणार्थी प्रकरण, वाईडबडी, गिरिबन्धुलगायतका काण्डमा कसैमाथि पनि कारबाही हुन नसक्नुपनि यही संविधान कारण बनेको उनको टिप्पणी छ । जेनजीले पनि यही संविधानमा टेकेर आन्दोलन नगरेको उनको भनाई छ । जेनजीहरुको क्रान्ति सच्चा भएपनि अहिले उनीहरुलाई छक्काईएको दीक्षितको गुनासो छ ।




प्रतिक्रिया