अख्तियार भ्रष्टाचार रोक्ने पक्षमा देखिँदैन, त्यसैले तत्काल पूनर्गठन गरिनुपर्छ : रामनारायण बिडारी


काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता ताथ राष्ट्रिय सभाका पूर्व सदस्य बरिष्ठ अधिवक्ता रामनारायण बिडारीले भ्रष्टाचारीहरुलाई जेल हाल्नुपर्छ भन्ने माग राखेर आफ्नो जीवन आहुति गर्ने जेन–जी आन्दोलनका शहीहरुप्रति सम्मान व्यक्त गरेका छन् ।

आफूले त संसद्मा नै भ्रष्टाचारको विषय उठाएको उनले स्मरण गराए । उनले भने,‘मैले त संसद्मा हरेक कार्यालयमा, हरेक दिन व्यापक रुपमा तलदेखि माथिसम्म, प्रधानमन्त्रीदेखि बैदारसम्म घुस नखाईकन कुनै काम गर्दैनन्, चाहे सुरुवामा होस, चाहे ठेक्कामा होस, उद्योग या व्यापारसम्म, घुस खाने कुरा संस्थागत भयो भनेर मैले आजभन्दा १० वर्षअघिदेखि भन्दै आएको थिएँ, मेरो कुरा बल पुगेन, जेन–जीले अहिले जुन प्रकारको आहुति दिए, यो आन्दोलनले एउटा जे प्राप्त गर्नुपर्ने हो, त्यो अझै बाँकी छ ।’

उनले तत्काल अख्तियार अनुसन्धान आयोगलाई पूनर्गठन गरेर यसलाई सक्रिय बनाएर भटाभट कारबाही गर्नुपर्ने सुझाव दिए । उनले सम्पत्ति शुद्धीकरण विभागले पनि व्यापक रुपमा अनुसन्धान गर्नुपर्ने सुझाव दिए । उनले सिआईबीलाई पूनर्गठन गरेर सक्रिय बनाउनुपर्ने बताए । यी तीन निकाय सक्रिय बनाएर निश्पक्ष रुपमा प्रमाणका आधारमा जोसुकै माथि अनुसन्धान गर्नुपर्ने उनको मत छ ।

अख्तियारलाई पूनर्गठन गरेर सक्रिय बनाएर काम गर्न नसकिए देशमा भ्रष्टाचार कायमै रहने खतरा बिडारीले औंल्याए । जेन–जीहरुले प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री चाहेकोले यो विषयमा छलफल गरेर समाधान निकाल्न सकिने उनको भनाई छ । उनले राजनीतिक विषयवस्तु संविधानअनुसार नै हुन नसक्ने भएकोले अहिले भ्रष्टाचार रोक्नको लागि नै पहिलो कदम चाल्नुपर्नेमा जोड दिए । उनले अहिले अख्तियार भ्रष्टाचार रोक्ने पक्षमा नदेखिएको आरोप लगाए ।