जेन-जी आन्दोलनका घाइते भेट्न पुगे नारायणकाजी, उनीहरुको संघर्ष खेर जान नदिने प्रतिबद्धता


काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ जेन-जी आन्दोलनका घाइतेहरुलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन् । उनले घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै उनीहरुलाई स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

आज त्रिवि शिक्षण अस्पताल पुगेर घाइतेहरु भेटेको तस्विर सार्वजनिक गर्दै नेता श्रेष्ठले उनीहरुको संघर्षको उपलब्धि खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले लेखेका छन्-

जेन–जी विद्रोहात्मक आन्दोलनका क्रममा सरकारको गोली प्रहारबाट घाइते भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत युवा आन्दोलनकारीहरूको स्वास्थ्य अवस्था बुझ्न र स्वास्थ्यलाभको कामना गर्न आज म अस्पताल पुगेँ।
चिकित्सक, नर्स तथा अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको निष्ठापूर्ण सेवाका कारण उहाँहरूको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ। यसअघि ४१ जना घाइते उपचारपछि घर फर्किसक्नुभएको छ भने हाल ५ जना विभिन्न वार्डमा उपचाररत हुनुहुन्छ।
उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। साथै, उहाँहरूको सौर्यमय संघर्ष खेर जान नदिई त्यसलाई उपलब्धिमूलक बनाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु।