ओली-लेखकलाई तत्काल पक्राउ गरी कारबाही अगाडि बढाउन जेन-जी अगुवाको माग (भिडिओसहित)


काठमाडौं, २१ असोज । जेन–जी अगुवा प्रदीप पाण्डेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओली र लेखकलाई पक्राउ गरी कानूनी कारबाही गरिनु्पर्छ भन्नेमा सम्पूर्ण जेन–जीहरु एक रहेको बताएका छन् । गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा तत्कालीन सरकारले गोली चलाउँदा धेरै युवाहरुले ज्यान गुमाएका थिए ।

‘प्रजातान्त्रिक अभ्यास गर्न जाँदाखेरी, सरकारसँग प्रश्न गर्न जाँदाखेरी आफ्नै देशका युवाहरुलाई गोली हान्न लगाउनु भनेको चाहिँ यो कस्तो किसिमको प्रवृत्ति हो, कस्तो किसिमको तानाशाही हो । यस्ता किसिमका प्रवृत्तिलाई त कारबाही हुनैपर्छ । उनीहरुलाई छिटोभन्दा छिटो कारबाही हुनुपर्छ भनेर जेनजीले पछिल्लो समयमा यो अभियान चलाएको हो । यसमा हामी एक छौं । हामीहरुले सोसल मिडियामा यो (केपी ओली र रमेश लेखकलाई पक्राउ गर भन्ने) अभियान चलाएकै छौं । उनीहरुलाई कारबाही गर्न ढिला पनि भइसकेको छ । यो निर्मम हत्या नै हो,’– उनले भने ।

पाण्डेले क्षमतावान, पढेलेखका र काम गर्न सक्ने जेन–जी पुस्ताबाट मन्त्रिमण्डलमा सहभागिता हुनुपर्ने बताए । ‘क्षमतावान, योग्यतावान जेन–जीहरु लिएर जानुपर्छ भन्ने हाम्रो कुरा हो,’– उनले भने ।