काठमाडौं, २१ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री भीमसेनसाद प्रधानले जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ आयोगले काम गरिरहेको अवस्थामा तत्कालिन प्रधानमन्त्री र तत्कालिन गृहमन्त्रीलाई पक्राउ गर्न भनेर जोहरी लिएर प्रहरीकहाँ जानु गलत भएको टिप्पणी गरेका छन् । आज (मंगलबार) विहान प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले जाँचबुझ आयोगलाई अनुसन्धान गरेर आफ्नो रिपोर्ट बुझाउन दिनुपर्ने बताएका हुन् ।
यत्रो ठूलो काण्ड भएपछि केपी ओलीले नैतिक रुपमा राजीनामा दिनुपर्नेमा अहिलेसम्म नदिएकोमा उनले आक्रोश पोखे । यस घट्नामा मुछिएकाहरुले जाँचबुझ आयोगले बयान लिनुपर्ने र बयान दिनुपर्ने उनको भनाई छ । तर, अहिले नै प्रहरीसमक्ष जाहेरी लिएर जानु उपयुक्त नभएको उनको तर्क छ । उनले भने,‘सबैजना कानूनको बाटोमा जानुपर्छ ।अहिले जाँचबुझ आयोगले छानबिन गरिरहेको छ । तीन महिनाभित्र रिपोर्ट बुझाउँछ । त्यसपछि सरकार एक्सनमा जानुपर्छ । हामीकहाँ रिपोर्ट आउँछन्, तर कार्यान्वयन भएका छैनन् । तर, अब कार्यान्वयन हुनुपर्छ ।’
अब हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली सेनाले निश्पक्षताको लागि भूमिका खेलोस भन्ने उनको सुझाव छ । उनले चुनाव नभए आन्दोलन सुरु हुने चेतावनी दिए । अब यही असोज २६ गते बस्ने केन्द्रीय समितिको बैठकमा चुनाव भए के गर्ने र नभए के गर्ने भनेर निर्णय लिनुपर्ने उनको भनाई छ । चुनावको वातावरण बनाउनको लागि प्रधानमन्त्री सुशीला कार्कीले नै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने प्रधानको भनाई छ । उनले नेपाली सेनाले संविधानसम्मत् काम गरेको पनि बताए ।




प्रतिक्रिया