काठमाडौं, २१ असोज । भदौ २३ गते भएको जेन–जी आन्दोलनमा दमन गर्ने र कलिला युवाहरुमाथि गोली हान्नेहरुलाई कारबाही गरिनुपर्ने माग चर्को रुपमा उठेको छ । हिजोबाट सामाजिक सञ्जालमा हामी नेपालीका संयोजक सुदन गुरूङले ‘एरेष्ट केपी ओली, एरेष्ट रमेश लेखक र मडर्रर’ ट्रेण्ड चलाएका छन् ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरी अनुसन्धान र कारबाही गरिनुपर्ने जेन–जी आन्दोलनका अगुवाहरुको माग छ । घट्ना घटेको एक महिना हुन लाग्दासमेत अहिलेसम्म गोली चलाउन आदेश दिने र दमन गर्नेहरुमाथि कारबाही नभएको भन्दै उनीहरुले आक्रोश पोखेका छन् ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले पनि यसअघि प्रधानमन्त्री सुशीला कार्कीलाई बालुवाटारमा भेटेर युावहरुमाथि गोली चलाउन आदेश दिनेहरुमाथि कारबाहीमा किन ढिलाई भनेर चासो राखेको कुरा बाहिर आएको थियो । बालेनपनि तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि पक्राउ गरी अनुसन्धान गर्नुपर्छ भन्ने पक्षमा रहेको बताईन्छ ।
सुरुमा बालेनले नै जेन–जी आन्दोलनमाथि दमन गर्ने र युवाहरुमाथि बर्वर गोली हान्नेहरुलाई कारबाही गर्नुपने माग गरेका हुन् । अहिले जेन–जी आन्दोलनका सहजकर्ता तथा हामी नेपालीका संयोजक सुदनले पनि आन्दोलनमा दमन गर्नेहरुमाथि कारबाहीको जोडदार माग गरेका छन् ।
उनले हिजो मध्यरातिसम्म ओली, लेखकसहितलाई पक्राउ गर्न जाहेरी दर्ताको लागि प्रयास गरेका थिए । प्रहरीले प्रधानमन्त्रीको तहबाट लिखित निर्देशन आएमात्रै अघि बढ्न सकिने जवाफ दिएको थियो । लगत्तै, गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग सिंहदरबारमा छलफल गरेका थिए ।
सिंहदरबारलगत्तै उनीहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए । यो घट्नाको बारेमा अनुसन्धान गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको छ । आयोगले बयान लिन नै बाँकी रहेको छ । यस्तो अवस्थामा पक्राउ गर्न थालियो भने अनुसन्धान प्रक्रिया अवरुद्ध हुनसक्ने चर्चासमेत चलेको छ ।




प्रतिक्रिया