प्रधानमन्त्री कार्कीले पहिलोपटक राजनीतिक दलका नेताहरुलाई बालुवाटार बोलाईन्, नेताद्वय श्रेष्ठ र पुनसँग एक घण्टा छलफल


काठमाडौं, ३१ असोज । प्रधानमन्त्री सुशीला कार्कीेले राजनीतिक दलका नेताहरुसँग छलफल गरेकी छन् । पहिलोपटक दलका नेताहरुसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीले आज साँझ छलफल गरेकी हुन् ।

छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताहरुलाई डाकिएको छ । यसअघि राष्ट्रपति कार्यालय शितलनिवासमा दलका नेताहरुसँग छलफलमा भाग लिएकी प्रधानमन्त्री कार्कीले पहिलोपटक आज बालुवाटारमा छलफल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले आज भने नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग छलफल गरेकी छन् । अन्य राजनीतिक दलसँग पनि निरन्तर भेटघाट र छलफल अगाडि बढाउने रणनीतिमा प्रधानमन्त्री कार्की रहेको बालुवाटार स्रोतले बतायो । नेताद्वय श्रेष्ठ र पुनसँगको भेटमा कार्कीले आगामी निर्वाचनको लागि वातावरण बनाउन सहयोग गर्न आग्रह गरेकी थिईन् । प्रधानमन्त्री कार्की र नेताद्वयबीच करिब एक घण्टा छलफल भएको बताइएको छ ।

हिजोमात्रै निर्वाचन आयोगले विभिन्न २९ दलका नेताहरुलाई निर्वाचन आयोगमा बोलाएर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गरेको थियो । सो छलफलमा अधिकांश दलका नेताहरुले प्रधानमन्त्री कार्कीले दलसँग दूरी बनाउन खोजेको भन्दै आलोचना गरेका थिए ।