गगन थापाको नेतृत्वमा पार्टीलाई रूपान्तरण गरिनुपर्छ, अहिले आम कार्यकर्ताहरुको पनि यही बुझाई हो : रमेश धमला (भिडिओ सहित)


काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश धमलाले देशलाई निकास दिनको लागि अहिलेको विषम परिस्थितिमा विधानमा भएको व्यवस्थालाई नै टेकेर विशेष महाधिवेशनको माग गरिएको स्पष्ट पारेका छन् । उनले पार्टीलाई विधानअनुसा चलाउनुपर्छ भनेर बारम्बार उठाएको पनि स्मरण गराएका छन् ।

उनले नेपाली कांग्रेस समयसापेक्षित नेतृत्व स्थापित गर्नको लागि तयार हुनुपर्छ भनेर आवाज उठाएको पनि बताए । हिजो (आइतबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले पार्टी नेतृत्वले आफूहरुको मागलाई सम्बोधन नगरे राष्ट्रिय भेला गर्ने चेतावनी दिए ।

पार्टी भनेको लोकतान्त्रिक भनेर मात्रै नचल्ने भन्दै व्यवहारमा लोकतान्त्रिक चरित्र देखाउनुपर्ने उनको मत छ । आजको आम कार्यकर्ताको चाहना भनेको अब युवा पुस्तामा पार्टीको नेतृत्व हस्तान्तरण रहेको पनि धमलाले आवश्यकता औंल्याए । अहिलेको सन्दर्भमा त्यसको नेतृत्व महामन्त्री गगनकुमार थापाले गर्नुपर्छ भनेर आम कार्यकर्ताहरुको बुझाई रहेको उनको दाबी छ ।