आजको बालुवाटार बैठकमा पर्यवेक्षकको रूपमा माथेमा र मल्लिक सहभागी हुने


काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको ७ दलको नेताहरुको बैठकमा पर्यवेक्षकको रूपमा प्रा.डा. केदारभक्त माथेमा र विद्याधर मल्लिक सहभागी हुने भएका छन् । प्रधानमन्त्री कार्कीले आज साँझ ४ बजे ७ दलका नेताहरुलाई चुनावको वातावरण बनाउनको लागि छलफलमा डाकेकी छिन् ।

छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, प्रवक्ता प्रकाशशरण महत सहभागी हुने भएका छन् । यस्तै, एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट नेताहरु वर्षमान पुन र पम्फा भुसाल आजको बैठकमा सहभागी हुने भनिएको छ ।

प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएअनुसार रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र नेतृ सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी हुने भएका छन् । यस्तै, जनता समाजवादी पार्टी, नेपालबाट अध्यक्ष उपेन्द्र यादव आँफै सहभागी हुने भएका छन् । लोसपाबाट सर्वेन्द्रनाथ शुक्ललाई बोलाईएको छ । बैठकमा रेशम चौधरी, प्रेम सुवाल र चन्दन सिंह सहभागी हुने भनिएको छ।