लोकतन्त्रको अग्रगामी ’सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता हल गर्न सकिँदैन : प्रचण्ड


काठमाडौं, ५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रको अग्रगामी ’सर्भिसिङ’ बिना अहिले देखापरेका जटिलता हल गर्न नसकिने बताएका छन् । नेपाल संवत् ११४६ को शुभ अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल संवत् हाम्रो ऐतिहासिक गौरव, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको प्रतीक भएको बताएका छन् । उनले भने,‘यो संवत् नेपालीको आफ्नै मौलिक संवत् हो– सबै जातजाति र समुदायको साझा गर्व। सिङ्गो नेपाल र नेपाली मात्रको संवत् भएकाले हामी सबैले यसप्रति गर्व गर्नुपर्छ। यही तथ्यलाई आत्मसात् गर्दै मैले पहिलो पटक सरकारको नेतृत्व गर्दा वि.सं. २०६५ सालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा घोषणा गरिएको थियो। त्यस निर्णयलाई थप संस्थागत गर्दै वि.सं. २०८० मा नेपाल सरकारका सबै दस्तावेजमा नेपाल संवत् लेख्ने निर्णय गरिएको स्मरण गर्न चाहन्छु।’

उनले राष्ट्रलाई पुनः एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा आफूहरु रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्,‘लोकतन्त्रलाई सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौँ। लोकतन्त्रको अग्रगामी ’सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता हल गर्न सकिँदैन । यसका लागि परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको टड्कारो आवश्यकता हो। संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढ्ने साझा संकल्प नै नेपाल संवत् ११४६ को साँचो शुभकामना हुनेछ। पुनः हार्दिक शुभकामना!’