काठमाडौं, ५ कार्तिक । भदो २३ र भदौ २४ गतेको घट्नाको लागि अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले घट्नामा भएको क्षतिको विवरण पठाउन आह्वान गरिएको बताएका छन् ।
प्राइम टिभीका लागि पत्रकार दीपक अर्यालले आयोगले कसरी काम गरिरहेको छ भनेर सोधेको प्रश्नमा अध्यक्ष कार्कीले भने–‘जसको क्षति भएको छ, त्यो क्षतिको विवरण हामीकहाँ पठाईदिनुहोस भनेर मागेका छौं । धेरै ठाउँबाट आईसकेको छ, अहिले अरु आउँदै गरेको छ । सबै विवरण आईसकेपछि हामी लगत बनाएर के कति क्षति भयो भनेर उतार्छौ ।’
जेन-जी आन्दोलनको क्रममा काठमाडौंलगायत देशैभरि को को प्रहरी खटिएका थिए भनेर पनि विवरण मागिएको कार्कीले जानकारी दिए । उनले भने,‘त्यो विवरण आएपछि हामी प्रहरीसँग बुझ्ने काम गर्छौं, कि को कहाँ र के कसरी खटिएको थियो भनेर ? गोली कसरी चलेको थियो भनेर सोध्छौं ।’
अहिलेसम्म यो घट्नाको विषयमा कसैसँग पनि बयान नलिईएको उनको स्पष्टोक्ति छ । तर, अब बयान तल्लो तहबाट हुँदै माथिलो तहसम्म पुग्ने उनले खुलाए । तीन महिनाभित्रै काम सम्पन्न गर्नेगरि लागिपरेको उनले जनाए । काठमाडौंभन्दा बाहिरका क्षेत्रमा पनि क्षतिको बारेमा अध्ययन गर्न जाने कार्कीको भनाई छ ।




प्रतिक्रिया