हायात बन्द भएकोबारे प्रधानमन्त्रीको चासो, अर्थमन्त्रीले गरे छलफल


हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले हायात रिजेन्सी व्यवस्थापनसँग आज बिहान कुराकानी गरी जानकारी लिएका छन् ।

त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेका छन् । खनालले भने, ‘तपाईंहरू आत्तिन भएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ । सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।’

यसबारे भोलि आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने जनाइएको छ ।