मन्त्रीहरुको अनुहार हेर्दापनि फागुनमा चुनाव होला जस्तो लाग्दैन : विष्णु रिजाल


काठमाडौं, कार्तिक १२ । नेकपा (एमाले)का नेता विष्णु रिजालले सरकारले निर्वाचनको वातारण बनाए एमाले चुनावमा सहभागि हुने बताएका छन् । राजनीतिक दलको जन्म र स्थापना निर्वाचनको लागि भएपनि फागुन २१ गते हुने भनिएको निर्वाचन हुने वातावरण नदेखिएकाले सरकार नै निर्वाचन तर्फ उन्मुख नरहेको उनको भनाई छ । सरकारले स्वच्छ, स्वतन्त्र, निश्पक्ष, मितव्ययी र भयरहित निर्वाचनको सुनिश्चितता गराउन राजनीतिक दलहरुसँग सघन ढङ्गले संवाद नै अगाडी नबढाएको जनाउँदै उनले देखाउनका लागि गरिएका बैठकले निर्वाचनको वातावरण नहुने बताए ।

नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै नेता रिजालले राजनीतिक दलका नेतालाई आतंकित पार्ने, राजनीतिक दलका गतिविधिमा प्रतिबन्ध लगाउने र आफ्ना नजीकका मान्छे लगाएर निर्वाचनको वातावरण विथोल्ने, निर्वाचनबाट जे परिणाम आएपनि मान्दैनौ भन्ने प्रचारले सरकार निर्वाचन उन्मुख नरहेको दाबी गरे ।

उनले भने, ‘अहिले शान्ति सुरक्षाको अवस्था सहज रहेको छैन् । प्रहरीबाट लुटिएका नौ सय हतियार र बर्दीहरु बाहिरनै रहेका छन् । ९८ हजार गोली लुटिएको छ । प्रहरी चौकीहरु पुर्नस्थापना हुन सकेकौ छैनन् । राजनीतिक दलसँग सरकारले औपचारिक रुपमा सघन ढङ्गले वार्ता नै अगाडी नबढाएकाले फागुनमा निर्वाचन हुने अवस्था देखिदैन् ।’

एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता रमेश लेखकलाई राजधानीबाट बाहिर जान नदिएर यो देशमा निर्वाचन हुन्छ भन्दै उनले सरकारमा सहभागी मन्त्रीहरुको अनुहार हेर्दापनि यो सरकारले फागुनमा निर्वाचन गर्छ भन्ने जनतामा पटक्कै विश्वासन नरहेको ठोकुवा गरे ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी पुस्ताको विद्रोहका कारण डराएर सत्ता नछाडेको दाबी गर्दै आन्दोलनका नाममा भएको हत्या, हिंसा, आगजनी र राष्ट्रिय सम्पत्तीमा थप क्षति नहोस भन्ने हिसावले ओलीले राजीनामा दिएको उनको भनाई छ ।