पार्टी सचिवालय बैठकमा प्रचण्डको ब्रिफिङः एकीकृत समाजवादीसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुङ्गिसक्यो


काठमाडौं, १५ कात्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी) सँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुङ्गिएको बताएका छन् । आज (शनिबार) पार्टीको सचिवालय बैठकमा प्रचण्डले एकीकृत समाजवादीसँग एकताको लागि सैद्धान्तिक र नीतिगत विषय टुङ्गिएको र संगठनात्मक विषय पनि नेतृत्व तहमा करिब–करिब टुंगिएको ब्रिफिङ गरेका हुन् ।

संयोजक प्रचण्डले दुवै संगठनलाई एकतावद्ध गराएर जाने विषयमा छलफल चलिरहेको पनि जानकारी गराए । माओवादी केन्द्रको आजको सचिवालय बैठकमा प्रचण्डसहित नेताहरू नारायाणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटालगायत सहभागी रहेका थिए ।

यता एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरिसकेको छ । केन्द्रीय कमिटीको बहुमतले माओवादीसँग एकता गर्ने निर्णय गरे पनि सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरु माओवादीसँगको एकताको विपक्षमा छन् ।