अन्तिम लडाईँ (कविता)


सुरुमा
उनिहरुले
देशको ढुकुटीभित्र
लम्काए हात र भरे पेट,
आम मानिसहरुले,
थाहासम्म पाएनन् ।

फेरि,
ओखतिमुलोमाथि
लगाए आँखा ,
त्यो पनि
सफल भए पचाउन,
मानिसहरुले
थाहा पाएर पनि
गरेनन् वास्ता ।

पछि फेरि
सडक, पुल र कुलेसाहरु
थाले निल्न,
मानिसहरुले
गरेनन् खासै मतलब ।

त्यहाँबाट,
हात हतियार, गाडी, घोडा खाए,
आम मानिसहरुले
त्यसलाई पनि
दिएनन् चासो ।

हुँदाहुँदै,
मल, बीउ र किसानका गोजी खाए,
केही मानिसहरु बोले
फेरि सेलाए,
पानिको फोकाजस्तै ।

यिनीहरुले
खाँदा–खाँदा
सिलसिलेवार
सबै–सबै चिज खाए ।
कहिले
बाँडेर,
कहिले
नबाँडी खाए,
खानुकै
चलाए पूरै प्रतिस्पर्धा।

अन्तमा
बाँकी रहयो
आम मानिसहरुको
केवल नाङ्गो शरीर ।
सबथोक खाएर
खाने लत लागेकाहरु
खोजीरहेछन नयाँ सिकार ।

तर
मलाई थाहा छ
मान्छेले ज्यान बचाउन
अन्तिम लडाईँ
लड्छ–लड्छ ।