भ्रष्ट नेतृत्वहरुलाई हराउने शर्तमा हाम्रो अभियान निर्वाचन केन्द्रीत हुन्छः पूर्व मन्त्री किराती (भिडिओसहित)


काठमाडौं, २९ कात्तिक । पूर्व मन्त्री एवं प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किरातीले आफूहरुको अभियान तत्कालका लागि निर्वाचन केन्द्रीत हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले निर्वाचनमा विचार मिल्ने र नयाँ सोच भएका शक्तिहरु एकता गरेर जानुपर्ने बताए । उद्देश्य मिल्नेहरुसँग आफूहरुले निर्वाचनमा सहकार्य गर्ने उनले बताए ।

‘यो अभियान तत्काललाई निर्वाचन केन्द्रीत हुन्छ । निर्वाचनमा विचार मिल्नेजति नयाँ सोचहरु एक ठाउँमा हामी एकता गर्दै लान्छौं । उद्देश्य मिल्नेहरुलाई हामी निर्वाचनमा सहकार्यसम्म लान्छौं,’– उनले भने ।

साथै, उनले आफूहरुको अभियानको पहिलो शर्त भ्रष्टाचार अन्त्य रहेको उनले बताए । भ्रष्ट नेतृत्वहरुलाई हराउने शर्तमा आफूहरु निर्वाचनमा अगाडि बढ्ने उनले बताए । त्यस्तै, गरिबीको अन्त्य, बलियो राष्ट्रियता बटमलाइनहरु बनाएर आफूहरु तत्कालका लागि चुनावमा केन्द्रीयत हुने उनले बताए । त्यसपछि नेपालको समग्र राजनीतिको पुनर्संरचनामा आफूहरुको अभियान अगाडि बढ्ने उनले बताए ।

नेपालको राजनीतिक विचार, संगठन, कार्यक्रम, कार्यशैली, समग्र अर्थ प्रणाली र वैदेशिक नीतिमा पुनर्संरचना आवश्यक रहेको उनको भनाइ छ । अब आफूहरुले जनतालाई क्रमशः बुझाउँदै लाने उनले बताए । अब पनि नेपाली जनताहरुले पटक–पटक जिताएर पठाएको, नातावाद र कृपावादमा डुबेको र विकृतिपूर्ण दल–दलमा भरिएको नेतालाई नजिताउने उनको भनाइ छ ।

साथै, उनले वाम घटकहरुबीच एकताको सल्लाह भइरहेको उनले बताए । अब बन्ने पार्टीमा डा.बाबुराम भट्टराई संरक्षक र जनार्दन शर्मा सल्लाहकार हुने उनले बताए । अब आफूहरु कसैलाई अध्यक्ष बनाउने, कसैलाई महासचिव बनाउने गरी हिजोको तरिकाबाट नचल्ने बताए । आफूहरुले राजनीतिक पुनर्संरचना भनेर एजेण्डा नै अगाडि सारिसकेको उनले बताए । सामुहिक नेतृत्व र सामुहिक नीतिको आधारमा अब दल अगाडि बढ्ने उनको भनाइ छ । ‘हामीले राजनीतिक पुनर्संरचना भनेर एजेण्डा नै अगाडि सारिसकेपछि सामूहिक नेतृत्व र नीतिको आधारमा हामी बनाउँछौं । अध्यक्ष, महासचिव यस्तोतिर हाम्रो सोच छैन,’– उनले भने ।