काठमाडौं, २९ कात्तिक । पार्टीको १५औं महाधिवेशनलाई लिएर नेपाली कांग्रेस यतिबेला दुई भागमा विभाजित भएको छ । कांग्रेस संस्थापन पक्ष आगामीप फागुन २१ गतेको निर्वाचनपछि मात्रै १५औं महाधिवेशनमा जानुपर्ने पक्षमा छ भने इत्तर समूह यही मंसिरभित्र महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्नेमा अडिग छ । इत्तर समूहरुले विशेष महाधिवेशनको माग गर्दैै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसमेत बुझाइसकेको छ । कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरमा विशेष महाधिवेशनको माग गर्न सकिन्छ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि मंसिरमै नियमित महाधिवशेन अथवा विशेष महाधिवेशनको पक्षमा उभिएका छन् ।
करिब १ महिनादेखि जारी रहेको कांग्रेस केन्द्रीय समिति बैठकले पनि महाधिवेशन कहिले गर्ने भन्नेमा निर्णय लिन सकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर उपचारका लागि सिंगापुर गएका थिए । उनी हिजो स्वदेश फर्किसकेका छन् । आज (शनिबार) बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति सम्बन्धमा निर्णय लिन सक्ने आँकलन गरिएको छ ।
यता संस्थापन समूहकै २४ जना केन्द्रीय समिति सदस्यहरुले महाधिवेशन प्रक्रिया मंसिरभित्रै सुरु गर्नुपर्ने मागसहित कार्यवाहक सभापति खड्कालाई पत्र बुझाएका छन् । यसरी पत्र बुझाउनेमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल पनि हुन् । नेता कँडेल कांग्रेसको १५औं महाधिवेशन जसरी भए पनि मंसिरभित्र सुरु हुनुपर्ने पक्षमा आफूहरु रहेको बताउँछन् । यद्यपि आफूहरुले कुनै गुट परिवर्तन नगरेको उनको भनाइ छ । नेता कँडेलका अनुसार अगामी १५औं महाधिवेशनमा सभापतिका लागि तीन शीर्ष नेताहरुको प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । अहिले कार्यकर्ताको जनमत कार्यवाहक सभापति खड्का, डा.शेखर कोइराला र महामन्त्री थापाको पक्षमा रहेको उनले बताए । सभापतिको लागि पनि यिनी तीन नेताबीच प्रतिस्पर्धा हुने उनको दाबी छ ।
‘नेतृत्व भनेको तीन जनाको बीचमा मैले प्रतिस्पर्धा देखिराखेको छु । अहिले हाम्रो कार्यवाहक सभापति पूर्णबहादुर खड्काजी हुनुहुन्छ । डा.शेखर कोइरालाजी हुनुहुन्छ र महामन्त्री गगन थापा । तीन जनाबाहेक अरु पनि छन् दाबेदारहरु । तर जनमत यही तीन जनामा छ । हाम्रा प्रतिनिधिहरुको चाहना भनेको यही तीन जनामा केन्द्रीत छ,’– उनले भने ।




प्रतिक्रिया