काठमाडौं, ३० कात्तिक । नेकपा (एमाले) का नेता सुमन प्याकुरेलले आफूहरु अहिले पनि मधेश प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ भन्ने कमिटमेन्टमा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने कमिटमेन्टमा रहे पनि संविधानको धारा १६८ (३) को प्रावधानअनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नुपरेको बताएका हुन् ।
‘त्यहाँको सत्ताको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ भन्ने कमिटमेन्टमा हामी अहिले पनि छौं । तर, जब संविधानको धारा १६८ (३) को ब्याख्या भयो । उपधारा ३ ले सबैभन्दा ठूलो दलको संसदीय दलको नेता भनेर तोकेको छ । कि त कृष्णजी मेरो पार्टीमा आएर उहाँलाई संसदीय दलको नेता बनाउनुपर्यो । होइन भने त्यो परिवेशमा हामीले बनाउन नसकेको । उहाँहरुसँग सल्लाह भएको छ,’– उनले भने ।
दुई÷दुई पटक संविधानको धारा १६८ (२) को सरकार असफल भएको, प्रदेशसभामा मत विभाजन भएको उल्लेख गर्दै उनले उपधारा ३ मा गएर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्नु सही रहेको उनले बताए ।
साथै, उनले एमालेले सत्तामा जानकै लागि राजनीति गर्ने बताए । सत्तामा नगइ जनताको काम गर्न नसकिने उनको भनाइ छ । सबैले सत्तामा जानकै लागि लुछाचुँडी गर्ने उनले बताए । ‘सत्तामा जानकै लागि नै हामीले राजनीति गरेको नि । सत्तामा नगई जनताको काम कसरी गर्न सकिन्छ ? सबैले सत्ताको लागि लुछाचुँडी गरेको हो नि,’– उनले भने ।




प्रतिक्रिया