आफू र लेखकलाई पक्राउ गर्न सक्ने भन्दै ओली सशंकित


काठमाडौं, ३० कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफू र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सक्ने आशंका व्यक्त गरेका छन् । आज (आइतबार) गुण्डूस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरुसँग संवाद गर्दै उनले सरकारले लेखक र आफूलाई गिरफ्तारी गर्नुलाई नै सुशासन ठानिरहेको बताए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारले आफू र लेखकलाई गिरफ्तारी गर्नका लागि जेन–जीहरु संगठित गर्ने, उनीहरुलाई मागपत्र लेखिदिने, जेन–जीहरुले मागपत्र बुझाएर दबाव दिए भन्ने भ्रम फैलाउने जस्ता काम गरिरहेको बताए । ‘अहिले सरकारमा हुनेहरूले सुशासन भनेको केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु भन्ने बुझेका छन्,’– उनले भने ।

आफू र लेखकलाई पक्राउ गर्न जेन–जीहरूले सरकारलाई दवाब दिए भन्ने आर्टिफिसियल ड्रामा तयार गरिएको अध्यक्ष ओलीले बताए । वर्तमान सरकारले विना पैसाको नाटक मञ्चन गरिराखेको अध्यक्ष ओलीको टिप्पणी थियो । अध्यक्ष ओलीले आफूहरुले विना पैसा असंवैधानिक सरकारको तमासा हेर्न बाध्य भएको बताए ।