काठमाडौं, १ मंसिर । नेकपा (एमाले)का पोलिटव्युरो सदस्य सूर्य थापाले प्रधानमन्त्रीमा सुशीला कार्कीलाई संसद् र संविधानले नचिनेकाले निर्वाचन गराउने अधिकार नरहेको बताएका छन् । प्रधानमन्त्री कार्कीको नियुक्ती असंवैधानिक र निषेधित काम रहेको दाबी गर्दै उनले जनताको जनमतबाट बनेको संसद् विधटन गर्ने प्रधानमन्त्रीलाई संसद् र संविधानले नचिनेकाले तत्काल संसद पुनर्स्थापना हुनुपर्नेमा जोड दिए ।
कार्की नेतृत्वको सरकारले देशमा सरकारको अनुभुति गराउन नसकेको, शान्ति सुरक्षाको प्रत्याभूति गराउन नसकेको, लुटिएका हतियार र फरार रहेका कैदी समात्न नसकेको बताउँदै उनले अहिलेकै अवस्थामा निर्वाचन हुन्छ भनेर दिवा सपना नदेख्न आग्रह गरे ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले प्रधानमन्त्री कार्कीले नेतृत्वको सरकार पुतली सरकार भएकाले देश निर्वाचनमा जान नसक्ने दाबी गरेका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री कार्कीलाई संसद् र संविधानले चिनेको छैन् । निर्वाचनको वातावरण बनाउन सरकारले राजनीतिक दल, मतदातालाई आश्वस्त पारेर निर्वाचन लक्षित कार्यक्रम अघि बढाउनु पर्ने हो । तर दुई महिना अघि प्रधानमन्त्रीमा नियुक्त कार्कीले शान्ती, सुरक्षाको प्रत्याभूती गराउन नसकेकाले अहिलेकै अवस्थामा निर्वाचन हुने सपना नदेखे हुन्छ । कार्की नेतृत्वको सरकार एक थान सरकारका रुपमा मात्रै छ । त्यसले देशमा अमन चयन, शान्ती सुरक्षाका विषयमा कुनै सरकारको अनुभुति गराउन सकेको छैन् । सरकारप्रति जनताको आशा भरोसा र जिम्मेवारी नरहेकाले पुतली सरकारले निर्वाचन गराउँन सक्दैन । निर्वाचन गराउँन पाउँदैन ।’
नेता थापाले राष्ट्रपति रामचन्द्र पौडेलले बाटोमा हिडिराखेको महिलालाई प्रधानमन्त्री बनाएको बताउँदै प्रतिनिधि सभाका २७५ जना सदस्य मध्ये एक जनाको पनि सहमति नलिई प्रतिनिधिसभाको हत्या गरेको आरोप लगाए ।
उनले भने, ‘राष्ट्रपति पौडेलले स्वतन्त्र सांसदको समेत सहमति नलिई प्रतिनिधिसभाको हत्या गर्नुभएको छ । राष्ट्रपति संसद विघटनका विषयमा विगतमा जनताको नासो जोगाउनुपर्छ भनेर नाटक र अभिनय गर्नुहुन्थ्यो । अहिले इतिहासमा कलंकको टिका लगाउने काम गर्नुभएको छ ।’




प्रतिक्रिया