काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका नेता डा.चन्द्रकान्त भण्डारीले आफ्नो पार्टीको प्रार्थमिकतामा पहिला मुलुक, जनता, प्रजातन्त्र र त्यसपछि पार्टी रहनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले कांग्रेस सत्तामा रहँदा होस् वा सत्तादेखि बाहिर रहँदा पहिला म, मभित्रको अहंकार, भ्रष्टाचार, विचौलियाको लगामले गर्दा नेपाली जनताको विश्वासमा कुठाराघात भएको बताएका हुन् ।
साथै, कांग्रेसले यतिबेला सबै राजनीतिक दलहरुलाई बोलाएर एजेण्डा तय गरेर देशलाई निकास दिनुपर्नेमा त्यो गर्न नसकेको उनले बताए । अहिले देश जलेको र युवाहरुले रगत बगाएको बेलामा गम्भीर हुन आवश्यक रहेको उनले बताए । नेता भण्डारीले कांग्रेसको इतिहास र हिजोका नेताहरुले गरेको कुर्वानी अहिलेका नेताहरुले बुझ्न नसकेको बताए । आफूहरु गलतको विरुद्धमा लागि राखेको बताए ।
साथै, कांग्रेस–एमालेको गठबन्धन सरकार गलत भएको उनको बुझाइ छ । आफूले उतिबेला नै संसदीय व्यवस्थामा बलियो प्रतिपक्ष चाहिन्छ भनेको पनि स्मरण गरे । आफूले कांग्रेस–एमालेको गठबन्धन भयो भने मुलुक कहाँ जान्छ भनेर पनि प्रश्न गरेको बताए । उनले भने, ‘मैले सुरुमै संसद्मा यो गठबन्धन गलत हो, एउटा ठूलो दल प्रतिपक्षमा बस्नुपर्छ । संसदीय व्यवस्थामा प्रतिपक्षमा बस्नुपर्छ भनेको हुँ । कांग्रेस–एमालेको गठबन्धन फेल भयो भने मुलुक कहाँ जान्छ ? यो प्रश्न पनि उठेको हो ।’
साथै, तत्कालीन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तत्कालीन उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई पदबाट बर्खास्त गर्दा पनि जनतामा आक्रोश झनै बढेको उनको भनाइ छ । नेपालको सिंहदरबार जलाउँदा पहिला नै केमिकलहरु लगेर राखिएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेको पनि उनले बताए । मुलुक जल्नुमा सुरक्षा निकाय, कर्मचारी र राज्यको नेतृत्व गरेका मान्छेहरु दोषी रहेको उनले बताए । उनीहरुले सत्ता र शासनमा बसेर मुलुक जल्दैछ भन्ने कुराको समेत भेउ नपाएको उनले बताए ।
‘सत्तामा बसेकाहरुले थाहा नपाउनु भनेको चाहे नेपालको कर्मचारी होस्, चाहे सुरक्षा निकाय होस्, चाहे राजनीतिक नेतृत्व जसले नेतृत्वको जिम्मा लिएको थियो, सबै दोषी छन्,’– उनले भने ।
उनले नेपालको संविधानमा पाँच÷छ वटा कमजोरी देखिएको बताए । राज्यको संरचना नै ठूलो भएको, जनप्रतिनिधिमात्रै ३८ हजार भएको कारण राज्यको राजस्वबाट तलब खुवाउन नसकिने अवस्था आएको, समानुपातिक प्रणालीलाई नेताहरुले आफू, आफ्नो परिवारको बनाएर बेचिदिएको, पालैपालो प्रधानमन्त्री हुने भनेर नेताहरु सिण्डिकेट गरेको, प्रदेश संरचनाको सरकार ठूलो बनाएको, स्थानीय तहमा दलगत निर्वाचन गराउँदा द्वन्द्व बढेको बताए । अब सांसद् संख्या ५० प्रतिशत घटाउनुपर्ने, समानुपातिक प्रतिनिधित्व निर्वाचनबाटै ल्याइनुपर्ने, दुई पटक भन्दा प्रधानमन्त्री हुन नपाउने गरी संविधानमा संशोधन गरिनुपर्ने र स्थानीय तहलाई पार्टीलेस बनाउनुपर्ने बताए ।
उनले केही समयका लागि संसद् पुनर्स्थापना गरेर देशमा देखिएको समस्याको निकास खोजिनुपर्ने बताए । सात दिनदेखि दुई महिनाको निम्ति भने पनि संसद् पुनर्स्थापना गरेर अहिले भएका सबै समस्याहरुको समाधान खोजिनुपर्ने उनले बताए । निर्वाचनले व्यक्ति परिवर्तन गर्न सके पनि प्रवृत्ति परिवर्तन गर्न नसकेको उनको भनाइ छ ।




प्रतिक्रिया