काठमाडौं, १ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता महेन्द्र बहादुर शाहीले आफूहरु आसन्न फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन तयार रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु निर्वाचनमा सहभागी हुन तयार रहेको र त्यसका लागि सरकारले वातावरण बनाउन जरुरी रहेको बताएका हुन् ।
‘आवश्यक वातावरण बनाउने दायित्व सरकारको हो । अहिलेको सरकारको मुख्य काम भनेकै निर्वाचन गराउनु हो । निर्वाचनको लागि आवश्यक वातावरण बनाउनेमा सरकारले अहिलेसम्म पनि सक्रियता देखाएको छैन । अहिलेको सरकारले चुनाव गराउन सक्छ कि सक्दैन भन्ने प्रश्न उठिराखेको छ । तर, हाम्रो अगाडि अर्को विकल्प छैन,’– उनले भने ।
निर्वाचनमा गएर नयाँ जनादेशको आधारमा देशको नेतृत्व गर्ने कुरा नै सबैभन्दा उपयुक्त हुने उनले बताए । नेता शाहीले आन्दोलनको सम्बोधन नगर्ने हो भने फेरि पनि मुलुक दुर्घटनामा जान सक्ने उनको भनाइ छ । जनताले दिएको जनादेशबाट नै देशको नेतृत्व गरिनुपर्ने उनले बताए । उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार निदाएको टिप्पणी गरे ।
‘अहिलेको सरकार निदाएको छ । कुनै पनि कामहरु अगाडि बढाएको छैन, सक्रियता देखाएको पनि छैन । खाली कार्यकक्षमा गएर दिनभरि निदाएर आफ्नो जिम्मेवारी पूरा गर्न सकिँदैन । अहिले सरकारमा गएका व्यक्तिहरु जेन–जीले विश्वास गरेको मान्छे हुन् । त्यो भएको हुनाले उहाँहरुले सक्रियता देखाउनुपर्यो,’– उनले भने ।
अहिलेको सरकारले गति लिन नसकेको, काम गर्ने मेसो नपाएको, अन्यौलतामा रुमलिएको उनले बताए । सरकार सक्रियताको साथ लागेर चुनावी वातावरण बनाउनुको विकल्प नरहेको उनको भनाइ छ ।
उनले कांग्रेस र एमाले जनताको बीचमा जान नसकिराखेको अवस्थामा नेपाली कम्युनिष्ट पार्टी भने जनताकै बीचमा रहेको बताए । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा धेरै पटक संसद् विघटन गरेको स्मरण गराउँदै नेता शाहीले अहिले आफ्नो प्रतिकूल परिस्थिति छ, जनताबाट बहिष्कृत छु भनेर निर्वाचन नचाएको बताए ।
उनले यसलाई प्रतिगमनको बाटोको संज्ञा दिए । ओली जनताको बीचमा जान डराएको उनको टिप्पणी छ । ‘जनताको बीचमा जान डराउने कायर मानसिकताबाट एमाले मुक्त भएर जनताको बीचमा जाने आँट गर्नुपर्छ,’– उनले भने ।




प्रतिक्रिया