विदेशीहरुको डिजाइनमा अवैध प्रधानमन्त्री कार्कीले संसद् विघटन गरिन्ः एमाले नेता बस्नेत


काठमाडौं, १ मंसिर । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य महेश बस्नेतले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारको आहालमा डुबेको आरोप लगाएका छन् । एमाले भक्तपुर जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विरुद्धमा भनेर बनेको सरकार आफैं भ्रष्टाचारको आहालमा डुबेको टिप्पणी गरेका हुन् । नेता बस्नेतले प्रधानमन्त्री कार्कीलाई अवैध प्रधानमन्त्रीको संज्ञा दिए । बालेनको स्टाटस र विदेशीहरुको डिजाइनमा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा विघटन गरेको उनको आरोप छ । प्रधानमन्त्री कार्कीले दलहरुविरुद्ध घृणा ओकल्ने गरेको बताए । प्रधानमन्त्री कार्कीले केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सतोसराप गर्ने गरेको उनले बताए ।

‘विदेशीहरुको डिजाइनमा, बालेनको स्टाटसमा अवैध प्रधानमन्त्री सुशीला कार्कीले संसद् विघटन गरेकी थिईन् । त्यसलाई पुनर्स्थापना गर्नुपर्छ भन्ने कुरामा एमाले अडिग रह्यो । फागुन २१ गतेको चुनाव, कुनै निर्वाचनतर्फ मुलुक गइराखेको छैन । शंकटतर्फ मुलुक गइराखेको छ । त्यहीभएर २१ गते चुनाव हुँदैन । सुशीला कार्की दलहरुप्रति घृणा ओकल्छिन् । शेरबहादुर देउवा, केपी ओली, प्रचण्डहरुलाई सतोसराप गर्छिन् । घर जलेका र घाइते भएका नेताहरुलाई सहानुभूति प्रकट पनि गर्दिनन् । राष्ट्रपतिले बोलाएको बाहेक उनी दलहरुसँग बैठकमा बस्न पनि चाहन्नन् । स्थान हद तोक्दिन्छिन्, पासपोर्ट रद्द गराइदिन्छिन् र निर्वाचन गर्छु भन्ने नौटंकी पनि गरिरहन्छिन्,’– उनले भने ।

साथै, उनले अब नेशनल युथ भोल्युन्टियर फोर्स बनाइने बताए । यो पार्टीको राजनीतिक कमाण्डमा चल्ने उनको भनाइ छ । नेशनल युथ भोल्युन्टियर फोर्सले विपद्को बेलामा महत्वपूर्ण भूमिका खेल्ने बताए । नेशनल युथ भोल्युन्टियर फोर्स एमालेको मिलिटरी फोर्सको रुपमा अगाडि बढ्ने उनले बताए । File Photo/RN