छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तकमा भ्रष्टाचार, प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा दायर


काठमाडौँ, १ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तक शीर्षकमा आएको कूल रकममध्ये चार लाख ४३ हजार ४३० रुपैयाँ ७० पैसा हिनामिना भएको पाइएको हो । उनका अनुसार आयोगले अनुसन्धानका क्रममा छात्रवृत्तिका लागि निकासा भएको ५१ हजार ६०० मध्ये कुनै पनि विद्यार्थीलाई वितरण नगरेको, दिवा खाजाका दुई लाख ४७ हजार ५० मध्ये केवल नौ हजार ९ सय बराबरको खाजा मात्र खुवाएको र बाँकी दुई लाख ३७ हजार १५० दुरुपयोग भएको देखिएको छ ।

यसैगरी पाठ्यपुस्तक शीर्षकमा प्राप्त एक लाख १६ हजार ७२९ मध्ये केवल एक हजार ७६४ रुपैयाँ ४० पैसा बराबरको पुस्तक खरिद गरी तीन विद्यार्थीलाई वितरण गरिएको र बाँकी रकम निकासाअनुसार खर्च नभएको आयोगको अनुसन्धानबाट खुलेको हो । सामाजिक सुरक्षा कर ३९ हजार सात सय १४ रुपयाँ ९५ पैसा समेत दाखिला नगरी हिनामिना गरिएको आयोगद्वारा दायर गरिएको आरोपपत्रमा उल्लेख गरिएको छ ।

आयोगले दुवैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र दुरुपयोग गरेको सम्पूर्ण रकम असुल–उपर गर्न मागदाबी लिइएको छ ।