ओली-लेखकलाई आयोगमै बोलाएर बयान लिन्छौं, उहाँहरुले काठमाडौं छाड्न अनुमति लिनुपर्छः गौरीबहादुर कार्की (भिडिओसहित)


काठमाडौं, २ मंसिर । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बयानका लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख कुबेरचन्द्र खापुङ, हालका आईजीपी दानबहादुर कार्कीलगायतको बयान लिने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भदौ २३ गतेको घटनाको तथ्य पत्ता लगाउनका लागि उनीहरुसँग बयान लिनैपर्ने बताएका हुन् । उनले जोसुकै भए पनि आयोगले अनुसन्धानको दायरामा ल्याउन बाँकी नराख्ने उनले बताए । अध्यक्ष कार्कीले आवश्यक परेको खण्डमा सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालाई पनि बयानका लागि बोलाइने बताए ।

‘हामी उहाँ (ओली) लाई बोलाउँछौं । कानूनलाई उहाँले मान्नुहुन्छ । कानूनलाई मान्ने हो नि उहाँले । मलाईँ तपाईँलाई मान्ने होइन नि त । देश चलाउँछु भन्ने मान्छेले कानूनलाई मान्नु परेन ?’ प्रश्न गर्दै उनले भने ।

‘तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि बोलाउन सक्छ आयोगले ?’ भन्ने प्रश्नमा उनले भने, ‘बोलाउँछ नै । आएर उहाँले बयान दिनुपर्छ । के कुरा गर्नुहुन्छ तपाईँले ?’ ‘केपी शर्मा ओलीले पनि यहीँ आएर बयान दिनुपर्छ भन्ने प्रश्नमा उनले भने, ‘हामीले उहाँलाई बोलाउँछौं, अब आउने नआउने अहिले नभनौं । भोलिको कुरा भोलि हुन्छ । अफिसमा बोलाउने हो नि । आयोगको अधिकार अदालतसरह हुन्छ ।’

साथै, उनले एमाले अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री ओलीलगात स्थान हद तोकिएका व्यक्तिहरुले काठमाडौं छाड्नुपरेमा आयोगबाट अनुमति लिएर जानुपर्ने बताए । उनले आयोगले बोलाएको खण्डमा उपस्थित हुने शर्तमा नेपालभित्र कतौ जानु परेमा आफूहरुले अनुमति दिने उनले बताए । उनले पूर्व गृहमसचिव गोकर्णमणि दुवाडीलाई कामको सिलसिलामा काठमाडौं बाहिर जान दिइएको पनि बताए ।

‘यदि उहाँले छोटो अवधि काठमाडौं बाहिर जान्छु भन्नुभयो भने आयोगले अनुमति दिइहाल्छ नि त । पूर्व गृहसचिव गोकर्णमणि दुवाडीले बाहिर काममा जान्छु भन्नुभयो । काममा जानुस् भनेको छ त । हामीलाई सूचना दिनुपर्यो । हामीले बोलाएको बेलामा आउने गरेर जान सकिन्छ,’– उनले भने ।