जेन-जी आन्दोलनः बालेनसँग बयान लिने जाँचबुझ आयोगको तयारी


काठमाडौं, २ मंसिर । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले गत भदौ २३ गते भएको जेन–जी आन्दोलनको सन्दर्भमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहसँग बयान लिने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आवश्यक परेको खण्डमा बालेनलाई पनि बोलाइने बताएका हुन् ।

‘काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहलाई बोलाएर बयान लिनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘आवश्यक पर्यो भने गर्छौं ।’ अध्यक्ष कार्कीले आयोगले दिएको प्रतिवेदन सरकारले अक्षरस पालना गर्नुपर्ने बताए । आयोगको प्रतिवेदन सरकारले कार्यान्वयन नगरेको र सार्वजनिक नभएको खण्डमा एक महिनापछि आफैंले सार्वजनिक गरिदिने पनि उनले बताए । त्यसो हुँदा जनताले पनि कार्यान्वयनको लागि दवाब दिने उनले बताए ।

साथै, उनले आयोगले बयानका लागि बयानका लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख कुबेरचन्द्र खापुङ, हालका आईजीपी दानबहादुर कार्कीलगायतलाई बोलाइने बताए । भदौ २३ गतेको घटनाको तथ्य पत्ता लगाउनका लागि उनीहरुसँग बयान लिनैपर्ने उनको भनाइ छ ।

बालेनले जेन–जी आन्दोलनलाई उत्तेजक बनाउनका लागि भूमिका खेलेको, आन्दोलनकारीहरुलाई पानी बाँड्न महानगरको टोली खटाएको, सामाजिक सञ्जालमार्फत हिंसा भड्काएको, सामाजिक सञ्जालमा सिंहदरबार जलाइदिने चेतावनी दिएको लगायतका आरोप टिकाटिप्पणी भइराखेका छन् ।